पतञ्जलि जग्गा प्रकरण

भ्रष्टाचार मुद्दामा बयान दिन अदालत पुग्दै माधव नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल पतञ्जलि योगपीठलाई जग्गा सट्टापट्टा दिँदा भ्रष्टाचार भएको प्रकरणमा बयान दिन बुधबार विशेष अदालतमा उपस्थित हुँदैछन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा प्रतिवादी बनाइएका नेपाल, आफैँ अदालतमा उपस्थित भएर मुद्दाको सामना गर्न लागेका हुन् ।

नेपालले आफैँ उपस्थित भएर बयान दिने इच्छासहित विशेष अदालतमा निवेदन दिएका थिए । सोही निवेदनका आधारमा विशेष अदालतको इजलासले पेसी तोकेपछि उनी बयानका लागि उपस्थित हुन लागेका हुन् । नेपालनिकट कानुन व्यवसायीहरूका अनुसार बयान प्रक्रियालाई छिटोभन्दा छिटो टुंग्याउने तयारी छ ।

बयान सकिएलगत्तै थुनछेक बहस सुरु हुनेछ, जुन यो प्रक्रियाको सबैभन्दा महत्त्वपूर्ण चरण हुनेछ । बहसमा नेपालका तर्फबाट कानुन व्यवसायीहरूले उनलाई थुनामा नराखी साधारण तारेखमा रिहा गरेरै मुद्दाको पुर्पक्ष अघि बढाउन माग गर्नेछन् । एक पूर्वप्रधानमन्त्रीको सामाजिक प्रतिष्ठा र उनी भाग्न सक्ने वा प्रमाण नष्ट गर्न सक्ने अवस्थामा नरहेको तर्क उनीहरूले प्रस्तुत गर्ने जनाइएको छ । 

अर्कातर्फ, पदको दुरुपयोग गरी नीतिगत निर्णयका नाममा भ्रष्टाचार गरेको गम्भीर आरोप लागेकाले निष्पक्ष अनुसन्धानका लागि उनलाई थुनामा राख्नुपर्ने तर्क सरकारी पक्षको हुनेछ ।

अख्तियारले गत जेठ २२ गते पूर्वप्रधानमन्त्री नेपालसहितका व्यक्तिहरूविरुद्ध पतञ्जलि योगपीठलाई हेटौँडामा सरकारी जग्गा दिँदा अनियमितता र भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । प्रधानमन्त्री भएकै बेला मन्त्रिपरिषद्बाट निर्णय गराएर सरकारी जग्गा सट्टापट्टामा भूमिका खेलेको अभियोग नेपालमाथि छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 1 =