मनोहरामा हामफालेका युवकको सकुशल उद्धार

काठमाडौं । ललितपुरको बालकुमारीस्थित मनोहरा खोलामा हामफालेका एक युवकलाई सशस्त्र प्रहरी बलले सकुशल उद्धार गरेको छ । बुधबार बिहान पुलबाट खोलामा हामफालेका नुवाकोट घर भएका १८ वर्षीय आयुष बडाललाई तत्कालै उद्धार गरिएको हो ।

उनी सोही क्षेत्रमा रहेको पुनर्जीवन अस्पतालमा उपचाररत रहेको खुलेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेन्द्र थापाका अनुसार, घटना बुधबार बिहान करिब ६:४० बजेको हो । ललितपुर महानगरपालिका-९, बालकुमारीस्थित नेकपा (एमाले) को च्यासल केन्द्रीय पार्टी कार्यालयको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको टोलीले युवकलाई खोलामा हामफालेको देख्नासाथ तत्काल उद्धार कार्य सुरु गरेको थियो ।

उद्धार गरिएका बडालको अवस्था सामान्य रहेको र उनलाई थप उपचार तथा परामर्शका लागि पुनर्जीवन अस्पतालमै फिर्ता पठाइएको सशस्त्र प्रहरीले जनाएको छ । प्रारम्भिक जानकारीअनुसार उनी केही समयदेखि उक्त अस्पतालमा उपचार गराइरहेका थिए । उनले किन यस्तो अप्रिय कदम चाले भन्ने विषयमा भने थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + ten =