देशभर मनसुनी वायु सक्रिय : कोशी र सुदूरपश्चिममा भारी वर्षाको चेतावनी

काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहँदा बुधबार अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले विशेषगरी कोशी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने भन्दै उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
महाशाखाका अनुसार, हाल देशका कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने देशभरको मौसम आंशिकदेखि सामान्यतया बदली रहेको छ ।
बुधबार कोशी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू-भागमा मौसम सामान्यतया बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान छ । यी क्षेत्रका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । यस्तै, देशका उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा वा हिमपातको समेत सम्भावना रहेको छ ।
महाशाखाले जारी गरेको विशेष बुलेटिनमा कोशी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना औंल्याइएको छ, जसले त्यस क्षेत्रमा बाढी र पहिरोको जोखिम बढाएको छ । लगातारको वर्षाका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव (डेब्रिज फ्लो), बाढी, पहिरो र भूक्षयजस्ता प्राकृतिक प्रकोपको जोखिम उच्च रहेको महाशाखाले जनाएको छ ।
यसले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवनका साथै सडक तथा हवाई यातायातमा समेत प्रतिकूल असर पार्न सक्ने भएकाले सम्बन्धित सबैलाई आवश्यक सतर्कता अपनाउन र पूर्वतयारीमा रहन महाशाखाले अनुरोध गरेको छ । यात्रा गर्दा मौसमको अवस्थाबारे जानकारी लिएर मात्रै अघि बढ्न पनि सुझाइएको छ ।








