सुशासन र भ्रष्टाचार नियन्त्रण सरकारको प्रमुख प्राथमिकतामा : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सुशासन कायम गर्नु सरकारको प्रमुख प्राथमिकता रहेको बताएका छन् ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
भ्रष्टाचार न्यूनीकरण, राजस्व चुहावट नियन्त्रण र सम्पत्ति शुद्धीकरण जस्ता गम्भीर मुद्दामा सरकार दृढ रहेको उनको दाबी छ । उनले आतङ्कवादी क्रियाकलापमा वित्तीय संलग्नता, अवैध विदेशी विनिमयको ओसारपसार र आर्थिक अपचलन नियन्त्रणका राजश्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभागलाई मन्त्रीपरिषद्को कार्यालय मातहत ल्याइएको बताए ।
उनले भने ‘राजश्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका सम्बन्धमा भ्रष्टाचार न्यूनीकरण, भ्रष्टाचार निवारण, राजश्व चुहावट नियन्त्रण र सम्पत्ति शुद्धीकरणलाई निरुत्साहित गरी सुशासन कायम गर्नु सरकारको प्राथमिकताको विषय हो । यी कार्यहरू प्रभावकारी रुपमा कार्यान्वयन गर्न राजश्व विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको मातहतमा राखिएका छन् । अतातंकवादी क्रियाकलापमा वित्त लगानी नियन्त्रण र विदेशी विनिमयको अवैध ओसारपसार र अपचलन नियन्त्रणसम्बन्धी कार्य जटिल र अन्तर्राष्ट्रिय क्षेत्रको समेत चासोको विषय भएको हुँदा यसको प्रभावकारी समन्वय, सहजीकरण र नियमनका लागि राजश्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभाग यस कार्यालय मातहतमा राखिएको स्पष्ट पार्न चाहन्छु ।’
संविधान र प्रणालीको रक्षा गर्दै सुशासन र विकासका कार्यहरू अगाडि बढाउनु सरकारले आफ्नो कर्तव्य ठानेको बताए । उनले मुलुकलाई समृद्धिको आधारमा अगाडि बढ्नेगरी संविधानको संशोधन गर्न समेत प्रस्ताव गरेका छन् ।








