संसदलाई नियमित सुचारु गर्नु रास्वपा र राप्रपाको पनि जिम्मेवारी हो : प्रमुख सचेतक घिमिरे

काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले गृहमन्त्री रमेश लेखक अत्यन्तै स्वच्छ छविको इतिहास निर्माण गरेको व्यक्ति भएको भन्दै प्रशंसा गरेका छन् ।
मङ्गलवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै काँग्रेसका प्रमुख सचेतक घिमिरेले गृहमन्त्री लेखकको प्रशंसा गरेका हुन् । उनले गृहमन्त्री लेखक पटक पटक मन्त्री हुनुभएको बेदाग चरित्र रहेको समेत बताए ।
उनले भिजिट भिसा प्रकरणको छानबिन गर्न बनाइएको उच्चस्तरीय छानबिन समितिलाई निष्पक्ष छानबिन र अनुसन्धानमा गृहमन्त्रीले भित्रैदेखि सदासयताका साथ काम गर्ने कुरामा पर्याप्त आधार र ठाउँहरू रहेका दाबी गरे । उनले संसद बहिष्कार गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई संसदीय अभ्यासमा सरकारमाथि विश्वास नगर्ने भन्दै प्रश्न गरे ।
उनले बनाइएको समितिलाई साथ दिन र समितिलाई अपनत्व गरेर शङ्काको सुविधा दिएर हेर्न रास्वपा र राप्रपालाई आग्रह गरे । उनले संसदलाई नियमित सुचारु गर्ने कुरामा रास्वपा र राप्रपाको पनि जिम्मेवारी हुने बताउँदै उक्त कर्तव्य निर्वाह आग्रह गरे ।
उनले भने ‘माननीय गृहमन्त्री आफैँमा एउटा अत्यन्तै स्वच्छ छविको इतिहास निर्माण गरेको व्यक्ति हो । पटक पटक मन्त्री हुनुभएको बेदाग चरित्र पनि हो । उहाँले यो काममा भित्रै देखि सदा सायताका साथ काम गर्ने कुरामा पर्याप्त आधार र ठाउँहरू रहेका छन् । म प्रतिपक्षी साथीहरूलाई, जो अहिले संसद् बहिष्कार गरेर हिँड्नुभएको छ उहाँहरूलाई यसरी कति दिनसम्म चल्छ ? संसदीय अभ्यास यही हो ” संसदीय अभ्यासमा सरकारमाथि विश्वास नै नगर्ने ? संसद्माथि विश्वास नै नगर्ने हो कसरी यो संसदीय अभ्यासमा सामेल हुन सकिन्छ । म निवेदन गर्न चाहन्छु, यो जुन समिति बनेको छ, यो समितिलाई साथ दिऔँ, यो समितिलाई अपनत्व गरेर शङ्काको सुविधा त दिएर हेर्नुस् । त्यो समितिबाट के परिणाम आउँछ हेरौँ, यो संसद्लाई सुचारु गर्ने कुरामा सहयोग गर्नु उहाँहरूको पनि जिम्मेवारी हुन्छ, यो कर्तव्य निर्वाह गर्न निवेदन गर्न चाहन्छु ।’
उनले सरकारले गठन गरेको समितिले राम्रो ढङ्गले काम गर्नुपर्नेमा समेत जोड दिए ।








