जापानमाथि नेपालको ९ विकेटको ‘रबाफिलो’ जित

काठमाडौं । बायाँ हाते स्पिनर शुभम खनालको घातक बलिङ र ब्याटरहरूको संयमित प्रदर्शनमा नेपालले एसिसी मेन्स यु-१६ एलिट कपमा जापानमाथि ९ विकेटको सानदार जित दर्ता गरेको छ । यो जितसँगै साविक विजेता नेपालले प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै उपाधि रक्षाको अभियानमा आफ्नो बलियो दाबेदारी प्रस्तुत गरेको हाे ।
मलेसियाको बांगीमा मंगलबार टस जितेर पहिले ब्याटिङ रोजेको जापान नेपाली बलरसामु निरीह साबित भयो र ३४.३ ओभरमा केवल ८० रनमा समेटियो । नेपालका लागि नायक बनेका शुभम खनालले आफ्नो १० ओभरको स्पेलमा मात्र १५ रन खर्चिएर ५ विकेट लिएपछि जापानको ब्याटिङ लाइनअप धराशायी बनेको थियो । उनको उत्कृष्ट बलिङसामु जापानका कप्तान चार्ली हाराहिन्जीले बनाएको ३६ रनबाहेक अन्य कुनै पनि ब्याटरले उल्लेख्य योगदान दिन सकेनन् ।
जापानलाई सस्तैमा समेट्ने क्रममा शुभमलाई अभय यादवले २ तथा शुशिल रावल र विपिन शर्माले समान १ विकेट लिएर साथ दिएका थिए । जापानले दिएको ८१ रनको सामान्य लक्ष्य नेपालले १४.२ ओभरमा मात्र १ विकेट गुमाएर सहजै पूरा गर्यो । नेपालको जितमा शिवान्श बजगाईंले अविजित ३८ रनको योगदान दिए भने अघिल्लो खेलका ‘प्लेयर अफ द म्याच’ प्रसिद्ध जैसी ३७ बलमा ३३ रनमा अविजित रहे । ओपनर जोय थापा १ रनमा आउट भए पनि त्यसपछिको साझेदारीले नेपाललाई सजिलै जित दिलायो ।
प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जित हो । यसअघि नेपालले सिंगापुरलाई पराजित गरेको थियो । दुई खेलबाट ४ अंक जोडेको नेपाल समूह ‘ए’ को शीर्ष स्थानमा छ । जापानको भने यो पहिलो हार हो ।
प्रतियोगितामा नेपालसहित १० टोली सहभागी छन्, जसलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपाल, सिंगापुर, इन्डोनेसिया, भुटान र जापान छन् भने समूह ‘बी’ मा आयोजक मलेसिया, हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार रहेका छन् ।
समूह चरणको तेस्रो खेलमा नेपालले आइतबार इन्डोनेसियासँग र अन्तिम खेलमा भुटानसँग प्रतिस्पर्धा गर्नेछ । समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । प्रतियोगिताको फाइनल खेल जुलाई ५ (असार २१) मा हुनेछ । नेपालले यसअघिका तीनै संस्करणको उपाधि जितेर ह्याट्रिक गरिसकेको छ ।








