सबैको सहयोग भए समयमै विद्यालय शिक्षा ऐन जारी हुन्छ : शिक्षामन्त्री पन्त

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सबै पक्षको सहयोग भएमा विद्यालय शिक्षा ऐन समयमै जारी गर्न सकिने बताएका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा मन्त्रालयसम्बन्धी विनियोजन शिर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले सरकारले ऐन ल्याउने तयारी अन्तिम चरणमा पु¥याएको जानकारी दिए ।

‘शिक्षकहरूसँगको छलफलमा अधिकांश सांसदहरू पनि विद्यालय शिक्षा ऐन ल्याउने पक्षमा हुनुहुन्छ,’ मन्त्री पन्तले भने, ‘विभिन्न समयमा नेपाल सरकार र शिक्षक महासंघबीच भएका सम्झौताहरूको मर्मअनुसार मन्त्रालयले धारणा बनाउँदै समितिमा छलफल गरिरहेको छ ।’

उनका अनुसार उपसमितिले बुझाएको प्रतिवेदन र विगतमा भएका नौ बुँदे सम्झौताका विषयहरू समेटिने गरी कानून तयार पारिनेछ ।

मन्त्री पन्तले पछिल्लो आन्दोलनका क्रममा शिक्षकहरूसँग भएको सम्झौता अनुसार प्रारम्भिक बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी र लेखा हेर्ने कर्मचारीको तलब संघीय सरकारले व्यहोर्ने निर्णय भइसकेको स्मरण गराए ।

‘समयमै शिक्षा ऐन ल्याउने विषयमा सबैजसो सांसदहरूको चासो सकारात्मक छ,’ उनले भने, ‘सरकार, शिक्षक महासंघ र राजनीतिक दलहरूबीच समन्वय भइरहेको छ । म समितिमा जुनसुकै बेला जान तयार छु ।’

उनले तोकिएको म्यादभित्रै ऐन संसदमा दर्ता हुने दाबीसमेत गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =