इजरायलमा इरानको मिसाइल प्रहार, विद्युत पूर्वाधारमा क्षति

एजेन्सी । इजरायली सेनाले दिएको जानकारीअनुसार, सोमबार बिहानको उत्तरार्धमा इरानले इजरायलतर्फ नयाँ मिसाइल आक्रमणहरू सञ्चालन गरेको छ, जसका कारण देशभर वायु आक्रमणका चेतावनी साइरनहरू बजाइएका थिए ।
सेनाका अनुसार, चार चरणमा गरेर करिब १० वटा मिसाइल प्रक्षेपण गरिएको थियो । उत्तरदेखि गाजापट्टीको सिमासम्मका विभिन्न क्षेत्रमा साइरन बजाइएको थियो, जसले गर्दा लाखौं नागरिकहरू करिब एक घण्टासम्म सुरक्षित आश्रयस्थलमा रहनुपरेको थियो ।
इजरायली हवाई सुरक्षा प्रणालीले अधिकांश मिसाइलहरू अवरोध गर्न सफल भएको जनाएको छ । तर, तीमध्ये तीनवटा मिसाइल इजरायली भूमिमा खसेका छन् । सरकारी स्वामित्वको कान टेलिभिजनका अनुसार, तीमध्ये एक अशदोड सहरमा अर्को याभ्ने क्षेत्रमा र तेस्रो उत्तर इजरायलमा खसेको हो ।
मिसाइलका टुक्राहरू अन्य विभिन्न स्थानहरूमा पनि खसेका छन्, जसमध्ये दक्षिण इजरायलको लखिश क्षेत्रको एक सडकसमेत प्रभावित भएको मगेन डेविद अडोम उद्धार सेवाका प्रवक्ताले जानकारी दिए । हालसम्म मानवीय क्षतिको कुनै सूचना प्राप्त भएको छैन ।
इजरायली गृह मोर्चा कमाण्डका कर्नल यारोन बार दयानले उक्त आक्रमणमा क्लस्टर वारहेडयुक्त मिसाइलहरूको प्रयोग भएको बताएका छन्, जसले व्यापक क्षेत्रमा क्षति पु¥याउने सम्भावना रहन्छ ।








