लैंगिक हिंसा, मानव बेचबिखन नियन्त्रण लगायतका कार्यक्रमका लागि २ अर्ब ८ करोड बजेट

काठमाडौं । महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले लैंगिक हिंसा निवारण, मानव बेचबिखन नियन्त्रण, अपांगता अधिकार प्रवद्र्धन, जेष्ठ नागरिक संरक्षण र महिला सशक्तिकरण जस्ता कार्यक्रमहरूका लागि आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरिएको बताएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री सुडीले महिला, बालबालिका र जेष्ठ नागरिकको हितमा केन्द्रित विभिन्न योजनाहरू सञ्चालनमा ल्याइने जानकारी दिए ।
उनका अनुसार एसियाली विकास बैंक र विश्व बैंकको सहयोगमा सञ्चालित महिला उत्थान कार्यक्रम तथा लैंगिक हिंसा रोकथामका लागि एकीकृत सेवा पहुँच परियोजनालाई निरन्तरता दिइनेछ ।
मन्त्री सुडीले मन्त्रालयले तयार पारेको बजेटले महिला तथा बालबालिका वर्गप्रति न्याय गर्ने विश्वास व्यक्त गरे । “यी समूहका हकहित सुनिश्चित गर्न बजेट लक्षित बनाइएको छ,” उनले भने ।
उनका अनुसार मन्त्रालयअन्तर्गत
– लैंगिक हिंसा निवारण तथा मानव बेचबिखन नियन्त्रण कार्यक्रम
– सामाजिक विकास कार्यक्रम
– अपांगता अधिकार प्रवद्र्धन
– जेष्ठ नागरिक संरक्षण कार्यक्रम
– राष्ट्रिय महिला सशक्तिकरण परियोजना प्राथमिकताका साथ अघि बढाइनेछ ।
मन्त्रालयले आगामी आर्थिक वर्षका लागि २ अर्ब ८ करोड रुपैयाँ बजेट पाएको छ । मन्त्री सुडीले यो बजेट सामाजिक समावेशिता, लैंगिक समानता र मानव अधिकार प्रवद्र्धनमा खर्च गरिने स्पष्ट पारे ।








