बालमन्दिर जग्गा प्रकरण : गणेशभक्त श्रेष्ठलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । नक्सालस्थित नेपाल बाल संगठन (बालमन्दिर) को जग्गा सस्तोमा भाडामा दिई ठगी गरेको आरोप लागेका फरार अभियुक्त गणेशभक्त श्रेष्ठ जिल्ला अदालत काठमाडौंमा हाजिर भएका छन् ।
बालमन्दिरको नाममा रहेको ११९ रोपनी १२ आना ३ पैसा जग्गामध्ये २८ रोपनी ५ आना १ पैसा जग्गा बृहस्पति विद्यालय व्यवस्थापन प्रालिलाई अत्यधिक कम दरमा भाडामा दिएको भन्दै ठगीको मुद्दा दायर भएको थियो । सोही प्रकरणमा फरार रहेका श्रेष्ठ सोमबार (असार ९) अदालतमा आफैं हाजिर भएका हुन् ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले उनलाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । रेग्मी स्वयं नेपाल बाल संगठनका पूर्व महासचिवसमेत हुन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बालमन्दिरकी पूर्वअध्यक्ष रीता सिंह वैद्यसहितका पदाधिकारीविरुद्ध ठगी र सरकारी सम्पत्तिको दुरुपयोगको आरोपमा अनुसन्धान अघि बढाएको थियो । सीआईबीले यस प्रकरणमा वृहस्पति विद्यालयका अधिकारीहरूलाई समेत प्रतिवादी बनाएको छ ।
अनुसन्धानका क्रममा पदाधिकारीहरूले सम्झौता अवधि अझै १७ वर्ष बाँकी रहँदै पुनः थप ३८ वर्षका लागि जग्गा भाडामा दिने नयाँ सम्झौता गरेको पाइएपछि विवाद चुलिएको थियो । सो प्रकरण सतहमा आएपछि नेपाल बाल संगठनले सबै सम्झौता रद्द गरिसकेको छ ।
विगतमा बालमन्दिर र बृहस्पति विद्यालयबीच २०४९, २०५३, २०५८, २०५९ र २०७२ सालमा गरी पाँच पटकसम्म सम्झौता भएको देखिन्छ ।
संस्थाको नाममा रहेको सार्वजनिक सम्पत्ति लामो समयका लागि निजी संस्था बृहस्पतिलाई भाडामा दिइएको भन्दै बाल संगठनकै तर्फबाट प्रहरीमा जाहेरी परेको थियो ।
प्रकरण अहिले अदालतमा विचाराधीन छ ।








