६१ किलो सुन प्रकरण : धरौटीमा छुटे पनि माओवादी नेतृ अमला पुनः पक्राउ

काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणमा मुछिएकी अमला रोकालाई काठमाडौं जिल्ला अदालतले २ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिए पनि उनी पुनः पक्राउ परेकी छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनीविरुद्ध सम्पत्ति शुद्धिकरण विभागबाट पत्र आएको भन्दै फेरि नियन्त्रणमा लिएको हो ।
सीआईबीका प्रवक्ता तथा एसपी युवराज खड्काले भने, ‘सम्पत्ति शुद्धिकरण विभागबाट हामीलाई पत्र आएको थियो। सोही आधारमा उनलाई फेरि नियन्त्रणमा लिएर पठाइएको हो ।’
रोका बेल्जियमका नागरिक दावा छिरिङकी श्रीमती हुन् । दावा छिरिङ पनि सोही सुन तस्करी प्रकरणमा संलग्न रहेका व्यक्ति हुन् । ठमेलस्थित होटल भियना रोकाकै नाममा दर्ता छ ।
सीआईबीले गत शुक्रबार रोकालाई काठमाडौंको टोखाबाट पक्राउ गरेको थियो । उनीविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा डिफ्यूजन नोटिससमेत जारी गरिएको थियो ।
यसअघि अदालतले उनलाई सर्तसहित धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर, अन्य निकायबाट अनुसन्धान भइरहेको जनाउँदै प्रहरीले उनीमाथिको अनुसन्धान जारी राखेको जनाएको छ ।








