‘मुख्य नेताको निर्वाचन क्षेत्रमा मात्रै बढी बजेट, बाँकीलाई अवहेलना’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणाले देशको बजेट वितरणमा वर्तमान व्यवस्थाले असन्तुलन सिर्जना गरेको बताएका छन् ।

उनले मुख्य रूपमा चार–पाँच जना मुख्य नेताहरूको निर्वाचन क्षेत्रमा मात्रै धेरै बजेट परेको र बाँकी क्षेत्रहरूलाई अवहेलना गरिएको उल्लेख गरे ।

सोमबार प्रतिनिधि सभा बैठकपछि नयाँ वानेश्वरस्थित संघीय संसद भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै राणाले सरकार र सत्तापक्षभित्रका सांसदहरूले समेत बजेटको असन्तुष्टि देखाएको जानकारी दिए ।उनले आफूहरूको निर्वाचन क्षेत्रमा बजेट चाहेको जस्तो नपरेको र केही मात्रामा मात्रै विनियोजन हुने गरेको गुनासो गरे ।

‘बजेट त परेको छ, तर सरकार र सत्तापक्षमै रहेका सांसदहरूले पनि असन्तुष्टि प्रकट गरिरहेका छन्। हामी त प्रतिपक्षमा छौँ । दुई–तीन वर्षदेखि बजेटका लागि दौडिरहेका छौँ, केही मात्रामा मात्र पाइन्छ। तर, उल्लेखनीय रूपमा पाएको छैन,’ उनले भने ।

राणाले यस व्यवस्थाले गर्दा मुख्य नेताहरूको क्षेत्रमा बढी बजेट पुग्ने र अन्य क्षेत्रलाई पर्याप्त बजेट नपर्ने अवस्था उत्पन्न भएको बताए ।

आगामी आर्थिक वर्षको विनियोजन विधेयक २०८२ मङ्गलवार प्रतिनिधि सभामा निर्णयार्थ प्रस्तुत हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 19 =