चार देशका राजदूतले राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र पेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नियुक्त भएका चार देशका राजदूतहरूले आज आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा बङ्गलादेशका आवासीय राजदूत मो शाफिकुर रहमान, दक्षिण अफ्रिका, एङ्गोला र अर्जेन्टिनाका गैरआवासीय राजदूतहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।
गैरआवासीय राजदूतहरूमा दक्षिण अफ्रिकाका अनिल सूकलाल, एङ्गोलाका क्लेमेन्टे पेड्रो फ्रान्सिस्को कामेन्ह र अर्जेन्टिनाका मारिनो अगुस्टिन छन् ।
समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
नवनियुक्त राजदूतहरूलाई होटल डुसिट प्रिन्सेसदेखि शीतल निवाससम्म घोडा गाडीसहितको विशेष रिसल्ला प्रयोग गरी सम्मानपूर्वक लगिएको थियो ।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार राजदूतहरूले आ–आफ्नो कार्यकालमा नेपालसँगको द्विपक्षीय सम्बन्ध थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।








