बजेट किसानको विपक्षमा छः वेदुराम भुसाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद डा. वेदुराम भुसालले बजेटले किसानको विपक्षमा काम गरेको आरोप लगाएका छन् ।

राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद भुसालले सरकारले वर्तमान सरकार किसानको भन्दा पनि व्यापारीको पक्षमा रहेको आरोप लगाएका हुन् ।

उनले उखु किसानलाई दिइँदै आएको अनुदान बन्द गरेर उखुबाटै उत्पादन भएका गुँड, सक्खर र चिनीको भन्सार शुल्कमा तीस प्रतिशत घटाएर किसानलाई डस्ने र व्यापारीलाई पोस्ने काम गरेको दाबी गरे । सांसद भुसालले गत माघ महिनादेखि दूध उत्पादक किसानले भुक्तानी नपाएको भन्दै सरकारले किसानलाई भुक्तानी दिनपनि नसकेको र दिलाउनका लागि कुनै पनि पहल नगरेको स्पष्ट पारे ।

उनले भने ‘यसभन्दा अगाडिको अर्थात् गत ५ गतेको बैठकमा माननीय अर्थमन्त्रीले हामीलाई जवाफ दिने क्रममा बडो फुर्तिका साथ सरकार किसानको पक्षमा छ भनेर भन्नुभयो । त्यसपछि मलाई के रहेछ त भनेर हेर्न मन लाग्यो । सरकारले किसानको पक्षमा के गरेको रहेछ भनेर बुझ्ने प्रयत्न गरे । तर, उल्टो गरेको पाएँ मैले, किसानको पक्षमा हैन विपक्षमा चाहिँ काम गरेको भेट्टाए । त्यसैलाई साझा गरौं भनेर यहाँ भन्दै छु– विगत ३० वर्षदेखि सरकारले उखु उत्पादक किसानलाई दिने गरेको अनुदान यो सरकारले बन्द गरेछ । किसानको पक्षमा यस्तै गरेको रहेछ । विगत तीन चार वर्षदेखि हामीले उखु उत्पादक किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँका दरले अनुदान दिने गरेका थियौँ । यो वर्षको उत्पादनलाई हेर्दा अहिले एक अर्ब चालिस करोड अनुदान किसानलाई दिनुपर्ने रहेछ । त्यसमध्येको ८० करोड अहिले पनि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गतको कृषि विभागमा रहेछ ।

त्यसमा सरकारले ६० करोड थपिँदिँदा कृषि किसानले त्यो अनुदानको निरन्तरता पाउने रहेछन् । तर, यो सरकारले त्यति थप्न पनि चाहेन र थपेन । अर्कोतर्फ सरकारले के गरेको रहेछ भने उखुबाट उत्पादन, गुँड, सक्खर र चिनीको भन्सार शुल्कमा तीस प्रतिशतबाट घटाएर ५० प्रतिशत मात्र बनाएको रहेछ । यसबाट प्रष्ट देखियो कि सरकार किसानको पक्षमा होइन व्यापारीको पक्षमा रहेछ । व्यापारीका निम्ति विदेशबाट आयात गर्ने त्यही उखुबाट उत्पादन भएको सामानका लागि सरकारले भन्सार शुल्क घटाएको छ, किसानलाई अनुदान बन्द गरेको छ । यसबाट प्रष्ट देखिन्छ सरकार किसानको पक्षमा होइन, व्यापारीको पक्षमा छ । अनि यस्तो निर्णयलाई किसानलाई डस्ने र व्यापारीलाई पोस्ने निर्णय नभनेर के निर्णय भन्ने होला भन्ने मलाई लाग्यो । नेपाली किसानले धेरै मिहिनेत गरेर दूध उत्पादन गरिरहेका छन्, तर, माघ महिनादेखि दूध उत्पादक किसानहरूले दूधको मूल्यको भुक्तानी पाएका छैनन् । अहिले चार अर्ब भन्दा बढी किसानले भुक्तानी पाउन बाँकी छ । यो सरकारले दिलाउन सकेको छैन, दिलाउनका लागि कुनै प्रयत्न पनि गरेको छैन ।’

उनले उखु उत्पादक किसानलाई दिइने अनुदानमध्ये कृषि विभागमा अहिले पनि ८० करोड रहेको त्यसमा ६० करोड थपिँदिदा अनुदानले निरन्तरता पाउने भएपनि सरकारले थप्न नचाहेको आरोप लगाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + three =