‘संसदमा नयाँ आएका सांसदलाई प्रशिक्षण पुगेको छैन’

काठमाडौँ । नेपाली काँग्रेसका सांसद किरणबाबु श्रेष्ठले प्रतिनिधिसभामा आएका नयाँ सांसदहरूलाई प्रशिक्षण नपुगेका र संसदीय अभ्यासमा कसरी चल्ने भन्ने जानकारी नभएको बताएका छन् ।
राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद श्रेष्ठले संसदीय अभ्यासबारे जानकारी नहुँदा आज प्रतिनिधि सभामा कहीँ नभएको जात्रा हाँडिगाउँमा जस्तै अवस्था भइरहेको बताएका हुन् ।
उनले मुलुकमा सार्वजनिक स्थललगायत संसदमा पनि निराशाको कुराभन्दा अरु सुनिन छाडेको अवस्थामा दैलेखमा पत्ता लागेको मिथेन ग्यासले थोरै उत्साह जगाएको बताए । प्रधानमन्त्री केपी ओलीले घरघरमा पाइपलाइन पठाएर स्विच अन गर्ने बित्तिकै घरमा ग्यास आउँछ भन्दा नपत्याइएको भएपनि अहिले नियतिले उनलाई जस दिने काम गरेको टिप्पणी गरे ।
उनले भने ‘आज प्रतिनिधिसभामा कहीँ नभएको जात्रा हाँडिगाउँमा जस्तै भइरहेको अवस्था छ । प्रतिनिधिसभा सांसदहरू जो नयाँ नयाँ आएका छन् यो अलिकति प्रशिक्षण नपुगेको हो कि, संसदीय अभ्यासमा कसरी चल्नुपर्छ संसदमा त्यो चाहिँ एकपटक सबैले मनन गरेर संसद सचिवालयले पनि त्यसतर्फ ध्यान दिनुपर्छ कि भन्ने मलाई लाग्छ । आज म अलि उत्साह र खुसीको कुरा बाँड्ने कोसिस गर्दैछु । हाम्रो मुलुक जता हे¥यो निराशा, बाटोमा हे¥यो निराशा, गाडीमा बस्यो यो भएन, उ भएन, यो सरकारले गरेन, राजनीतिक पार्टी र नेताहरूलाई गाली, होटलमा चिया खान बस्दा नकारात्मक कुरा सुनिने । हुँदा हुँदा संसदमा पनि त्यही कुरा हामी सांसद आफैँ छौं सत्तापक्षकै सांसद पनि निराशाको कुरा भन्दा अरु केही गरेको सुनिँदैन । यस्तो अवस्थामा केही दिनअघि उत्साहको समाचार पढ्न पाइयो, त्यो के भने कर्णाली प्रदेशको दैलेखमा मिथेन ग्यास पत्ता लागेको छ । त्यो थोरै मात्र होइन नेपाललाई पचास वर्ष पुग्ने ग्यास भएको पत्ता लागेको छ । त्यसलाई यदि हामीले सदुपयोग गर्न सक्यौ र व्यावसायिक रुपमा बाहिर निकाल्न सक्यौँ भने पचास वर्षसम्म नेपाल ग्यासमा आत्मनिर्भर हुन्छ ग्यास बाहिरबाट आयात गर्नु पर्दैन । सम्माननीय प्रधानमन्त्रीज्यूले घरघरमा पाइपलाइन पठाएर स्विच प्याट्ट अन गर्नेवित्तिकै तपाईँको घरमा ग्यास आउँछ भन्नुभएको थियो नियतिले उहाँलाई जस दिने काम भएको छ ।
हाम्रो आवश्यकताले खोज्दै जाँदा ठ्याक्कै उहाँलाई जस हुने, उहाँले भनेको कुरा पुग्ने अब बिस्तारै त्यसलाई निकालेर ल्याउन सकेको खण्डमा त्यो उहाँको सपना पूरा हुन्छ र सबै नेपालीको घरको चुल्होमा पाइपलाइनबाटै ग्यास आउने सम्भावना देखिएको छ । अस्ति भर्खर मात्र एउटा प्रतिवेदन यहाँ पेस भयो, हामी अतिकम विकसित मुलुकबाट विकाशशील मुलुकमा स्तरोन्नति हुँदैछौं २०२६ बाट यो पनि एउटा खुसीको कुरा हो । जताततै निराशै निराशा भएको अवस्थामा अतिकम विकसितबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने । त्यो हुनेवित्तिकै हामी एक स्टेप माथि प्रमोसन भयौँ । हुन त यसका सकारात्मक नकारात्मक दुइटै पक्षहरू छन् कि उद्योगी व्यापारीहरू यो भैसकेपछि यहाँ पाउने सहुलियतहरू, पाउने सुविधाहरू नेपालले पाउन सक्दैन त्यसकारण यो विषयमा हामीले गम्भीर हुनुपर्छ भन्ने कुराहरुपनि उठिरहेको छ । तर, के हामी सधैँ माग्ने र गरिब नै भएर बसिरहने रु यो गौरबको कुरा हो त्यसकारण यो विकासशील देशमा फड्को मार्ने कुरालाई अन्य तरिकाबाट भोलि त्यसमा पाउने सहुलियत र सुविधाहरूलाई क्षतिपूर्ति गर्ने किसिमको सरकारबाट सम्बन्धित निकायहरूबाट अगाडि बढेको खण्डमा देशको लागि गौरवको कुरा हो ।’
उनले सन् २०२६ बाट नेपाल अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुँदै गर्दापनि केही हदसम्म उत्साह देखिएको स्पष्ट पारे ।








