सुर्खेत प्रदेश अस्पतालका लेखा अधिकृतसहित तीन जनाविरुद्ध अख्तियारले मुद्दा दायर

काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृतसहित तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अस्पतालको बिलिङ काउन्टरमा उठेको रकम बैंकमा दाखिला नगरी हिनामिना गरेको आरोपमा लेखा अधिकृत शंकरप्रसाद सुवेदी, करारमा कार्यरत तृप्ती शाही (ठकुरी) र कुमारी बैंकको एक्सटेन्सन काउन्टरका तत्कालीन इञ्चार्ज गोमा सिँजाली मगरविरुद्ध आज (सोमबार) भ्रष्टाचारको मुद्दा दायर गरिएको हो।
अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, तीनै जनाविरुद्ध रु २५ लाख ६७ हजार ५२६ बराबरको बिगो माग दाबी गरिएको छ।
अनुसन्धानमा संलग्न अधिकारीका अनुसार अस्पतालको राजश्व उठाउने बिलिङ काउन्टरबाट संकलित रकम कुमारी बैंकको अस्पतालस्थित एक्सटेन्सन काउन्टरमार्फत दाखिला गरिनुपर्नेमा त्यसो नगरी रकम व्यक्तिगत रूपमा हिनामिना गरिएको प्रमाण भेटिएको हो।
आयोगका अनुसार ती रकममा व्यापक अनियमितता देखिएको र सार्वजनिक पद दुरुपयोग गरी व्यक्तिगत लाभ लिने प्रयास भएको ठहर गरिएको छ।








