उपराष्ट्रपति यादव र अमेरिकी राजदूतबीच भेट, द्विपक्षीय सहकार्यबारे छलफल

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादव र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्प्सनबीच सोमबार शिष्टाचार भेटवार्ता भएको छ ।
लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको भेटमा नेपाल–अमेरिका सम्बन्धका विविध आयाम, द्विपक्षीय सहयोग, कूटनीतिक साझेदारी तथा आगामी सम्भावनाहरूका विषयमा छलफल भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।
भेटका क्रममा उपराष्ट्रपति यादवले सन् १९४७ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता दुवै देशबीच परस्पर सम्मानमा आधारित सुमधुर सम्बन्ध रहँदै आएको उल्लेख गर्दै भने, “लोकतन्त्र, मानव अधिकार र स्वतन्त्रता हाम्रो साझा मूल्यमान्यता हुन्, जसले हाम्रो सम्बन्धलाई अझ बलियो बनाएको छ ।”
उनले सन् १९५१ देखि अमेरिकाले प्रदान गर्दै आएको विकास सहयोगप्रति आभार व्यक्त गर्दै आर्थिक–सामाजिक विकास तथा लोकतान्त्रिक सुदृढीकरणमा अमेरिकी योगदान प्रशंसनीय रहेको बताए ।
उपराष्ट्रपति यादवले नेपाल सरकारद्वारा अमेरिकाको सानफ्रान्सिस्को र ड्यालासमा स्थापना गरिएका महावाणिज्य दूतावासबाट नेपाली समुदायले कन्सुलर सेवा पाउने विश्वास व्यक्त गर्दै व्यापार, प्रविधि र लगानीका क्षेत्रमा सहकार्य गहिर्याउने प्रतिबद्धता जनाए ।
नेपाल सन् २०२६ सम्ममा अल्पविकसित देशको श्रेणीबाट स्तरोन्नति हुँदै गर्दा अमेरिका लगायतका विकास साझेदारहरूको दीर्घकालीन सहकार्य आवश्यक रहेको उनले उल्लेख गरे ।
यस्तै, मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) अन्तर्गतका पूर्वाधार परियोजना तथा युएसएआइडीमार्फत सञ्चालित कार्यक्रमहरूको निरन्तरता हुनेमा आफू आशावादी रहेको बताए ।
भेटका क्रममा राजदूत थम्प्सनले एमसिसी, युएसएआइडीलगायतका परियोजनाहरू सकारात्मक रूपमा अगाडि बढिरहेको जानकारी गराउँदै नेपाली डायस्पोराको सक्रियता उल्लेखनीय रहेको बताए ।
“नेपाल र अमेरिका मिलेर अझ धेरै क्षेत्रहरूमा सहकार्य गर्न सक्छन्,” राजदूत थम्प्सनले भने ।








