नेपालमै व्यवसाय गर्ने वातावरण सिर्जना गर्न सांसदहरूको जोड

काठमाडौँ । नेकपा एमाले सांसद भगवती चौधरीले नेपालमै व्यवसाय गर्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिएकी छन् ।
सोमवारको अर्थ समितिको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेकी हुन् । समितिमा सोमवार आर्थिक विधेयक मार्फत सुन, चाँदी र गरगहनामा लगाइएको करका सम्बन्धमा नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको निवेदन र बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा आन्तरिक छलफल भएको हो । जसबारे बोल्दै उनले व्यवसायी लगानीकर्तामाथि धेरै कडाइ गर्न नहुने बताइन् ।
अवैधानिक रुपमा व्यापार व्यवसाय गर्नेहरूमाथि मात्रै निगरानी बढाएर करको दायरामा ल्याउन जरुरी रहेको बताइन् । उनले डायमण्डमा लगाइएको विलाशिता कर हटाउनुपर्ने बताइन् ।
उनले भनिन् ‘यदि व्यवसायी लगानीकर्ता सबैलाई फस्टाउनु छ भने यसै टाइट गर्ने हो भने झनै समस्या आउँछ । अहिलेको अवस्था त यति नैराश्यता छ । हाम्रो मार्केट, अर्थतन्त्र यति तल झरिसकेको छ । यो तरिकाले झनै तल खस्किन्छ । डायमण्डमा लग्जरी कर जुन छ त्यसलाई हटाउनु पर्छ । आम उपभोक्ताले बढी प्रयोग गर्ने चिजमा कर बढाइदिए मारमा उनीहरु नै पर्दछन् । हामी उद्योगधन्दा फस्टाउन चाहन्छौँ, यहीँ व्यवसाय गर्न दिने हो भने टाइट नगरौँ ।’
समितिको बैठकमा बोल्दै नेकपा एमाले सांसद जुलीकुमारी महतोले नेपालमा महँगी बढ्नु र कर बढी लगाउँदा नेपालको बजार सुकिरहेको बताइन् । उनले सिंहदरबारबाट हेरेर सबैकुरा नदेखिने भन्दै सम्बन्धित स्थानमा नै गएर निरीक्षण गर्न जरुरी रहेको बताइन् । निजी क्षेत्र, उद्योगी व्यवसायीहरूले उपभोक्तालाई मारमा नपार्ने गरी कानुन निर्माण गर्न जरुरी रहेको बताइन् ।
उनले भनिन् ‘नेपालको बजार किन सुकेको यहीँ भन्सारमा हेर्न जानुस् न । पारीको पसल हेर्नुभयो भने कस्तो हाँसिरहेको छ । मारामार छ । चिनी र तेल किन्न गएको छ । त्यहीँ दशगजाको नेपालतिर आउँदा बजार सुकेको छ किन ? त्यो त्यहाँ गएर हेर्नुपर्छ । सिंहदरबारबाट मात्रै हेरेर हुँदैन । बेथितिहरू कहाँ छन्, भन्सारमा कति बेथिति छ । निजी क्षेत्र, उद्योगी व्यवसायीहरूले उपभोक्तालाई मारमा नपार्ने, सुशासनको कुरा गर्ने तर यो कुराहरूले गरेर ठिक भइरहेको छैन । कच्चा पदार्थमा बनेको सामानको कुरा पनि आयो । कस्तो उल्टो । कच्चा पदार्थमा ६ प्रतिशत हुनुपर्ने, बनेको सामानमा १० प्रतिशत हुनुपर्ने छ । के भन्न खोजेको ? नेपालमा रोजगारी नदेऊ, उद्योगधन्दा नखोल, युवाहरू अरब कतार जाऊ, आफ्नो पसिना बाहिर गएर बगाऊ के हो यो रु हामी रोजगारी दिन, युवालाई नेपालमा राख्न खोजेको हो भने कच्चा पदार्थ नेपालमै उत्पादन गर भन्ने होला नि ।’
सांसद महतोले कच्चा पदार्थमा ६ प्रतिशत कर हुनुपर्नेमा १० प्रतिशत र बनेको सामग्रीमा १० प्रतिशत हुनुपर्नेमा ६ प्रतिशत कर रहेको भन्दै यो उल्टो प्रक्रिया भएको जिकिर गरिन् । यसले युवाहरूलाई विदेश जाऊ, देशमा नबस भनेको स्पष्ट हुने बताइन् ।








