एकल महिलाको हितमा योजनाबद्ध ढंगले काम गरिरहेको छौं : मेयर महर्जन

ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले एकल महिलाको अधिकार र उत्थानका लागि महानगरले पहिलो कार्यकालदेखि नै योजनाबद्ध ढंगले काम गरिरहेको बताएका छन् ।

१५औँ अन्तरराष्ट्रिय एकल महिला दिवसका अवसरमा सोमबार ललितपुरमा आयोजित समारोहमा बोल्दै मेयर महर्जनले एकल महिलाले भोग्दै आएको पीडालाई आफूले नजिकबाट बुझेको उल्लेख गर्दै सहकार्यका माध्यमबाट व्यवहारिक कार्यक्रम अघि बढाइएको जानकारी दिए ।

“कोरियाको चेओरवन शहरसँग भगिनी सम्बन्ध कायम गरी कृषिका उत्कृष्ट अभ्यास ल्याउने प्रयास भइरहेको छ,” उनले भने, “त्यसको सुरुवात सुनाकोठीको छहारी एकल महिला समूहबाट गरिएको हो। महानगरभित्रका हरेक एकल महिला समूहसँग सहकार्य गर्दै आएका छौं, भविष्यमा पनि निरन्तरता दिन्छौं ।”

उनले सामाजिक क्षेत्रमा ललितपुरले अग्रणी भूमिका निर्वाह गरिरहेको भन्दै एकल महिलाका सवालमा गरिएका कामलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा ब्याख्या गरे ।

कार्यक्रममा युएन वुमनकी राष्ट्रिय प्रतिनिधि प्याट्रिसिया फर्नान्डेनले एकल महिलाको न्यूनतम आवश्यकता, आत्मसम्मान र क्षमता विकासमा अझै धेरै ध्यान दिनुपर्ने बताइन् । “एकल महिलाहरू अझै आर्थिक रूपमा सक्षम बन्न संघर्षरत छन्,” उनले भनिन् ।

वडा नम्बर २७ का अध्यक्ष कृष्णहरि महर्जनले वडा तहबाट एकल महिलालाई सशक्त बनाउन विभिन्न कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए । “उनीहरूको आत्मबल बढाउने काममा वडाले निरन्तर साथ दिइरहेको छ,” उनले भने ।

सभा नेपालकी अध्यक्ष उषा डङ्गोल र मानव अधिकारका लागि महिला एकल महिला सामूहिक अध्यक्ष कविता पाँडेले एकल महिलाले भोगिरहेका आर्थिक, मानसिक तथा सामाजिक विभेद अन्त्य गर्न समावेशी र संवेदनशील दृष्टिकोण आवश्यक रहेको धारणा राखे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − three =