जैमिनीमा बाँदर आतङ्क रोक्न ‘बाँदर बगैँचा’ निर्माण गरिँदै

बागलुङ । बाँदर आतङ्कका कारण गाउँ छाड्न थालेका किसानलाई राहत दिने उद्देश्यसहित बागलुङको जैमिनी नगरपालिकाले ‘बाँदर बगैँचा’ निर्माण गर्ने भएको छ । नगर प्रमुख नरबहादुर पुनले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बाँदरको क्षति न्यूनीकरण गर्न यस्तो योजना ल्याइएको जानकारी दिए ।
नगरपालिका–८ स्थित पुरानो गाउँमा बाँदर बगैँचा निर्माण गरिनेछ। नगर प्रमुख पुनका अनुसार बाँदरले बाली नष्ट गरेपछि किसानलाई कम क्षति हुने फलफूल र मसला बालीमा आकर्षित गरिनेछ ।
युवालाई कृषिमा आकर्षित गर्न किसान परिचयपत्र वितरण गरिने भएको छ । पालिकाभरका किसानलाई सूचीकरण गरी परिचयपत्र दिने तयारी भएको प्रमुख पुनले बताए । साथै उत्पादनलाई बजारसम्म पु–याउन कृषि एम्बुलेन्स सञ्चालन गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
दुग्ध उत्पादन बढाउन पशु नश्ल सुधार, खोप, औषधि उपचार तथा बजारीकरणमा समेत नगरपालिका सक्रिय रहनेछ । बाख्रापालनलाई प्रोत्साहन गर्दै ‘बाख्रा जोन’ बनाइनेछ । अण्डा, दूध र मासुमा आत्मनिर्भर बन्ने लक्ष्यसहित उत्पादन र बिक्रीमा आधारित अनुदान कार्यक्रम सञ्चालन गरिनेछ ।
हलगोरु पाल्ने किसानलाई प्रोत्साहन गरिनेछ भने राँगो, बङ्गुर र पाडापाडीको उत्पादन बढाएर चीनसम्म मासु निर्यात गर्ने लक्ष्य पनि नीति कार्यक्रममा समेटिएको छ ।
गत वर्ष सञ्चालन गरिएको ‘सेरा जाऔँ, केरा खाऔँ’ अभियानलाई निरन्तरता दिइने भएको छ । त्यस्तै ‘छोरी जन्मे घर, खुसीको लहर’ नारासहित सञ्चालित ‘जैमिनीकी छोरी’ कार्यक्रममा छोरी जन्मेपछि रु २,५०० को खातासहित जन्मदर्ता गरिनेछ ।
नगर प्रमुख पुनका अनुसार पालिकाभित्र रहेका घरबारविहीनलाई घर बनाइनेछ भने फूसका छाना विस्थापन कार्यक्रम पनि निरन्तर चलाइनेछ । सुकुम्बासी समस्या समाधान गरी यसै वर्ष जैमिनीलाई सुकुम्बासीमुक्त पालिका घोषणा गरिने योजना रहेको छ ।
शिक्षा क्षेत्रमा पनि ‘एक वडा, एक आवासीय माध्यमिक विद्यालय’ र ‘एक विद्यालय, एक करेसाबारी’ कार्यक्रम सञ्चालन गरिनेछ। विद्यार्थीलाई आर्गानिक खाजा खुवाउने र ‘पढ्दै कमाउँदै’ कार्यक्रममार्फत स्थानीय उत्पादनलाई पाठ्यसामग्रीको रूपमा प्रयोग गरिने नीति पनि सार्वजनिक गरिएको छ ।








