काठमाडौंबाट महोत्तरीका लागि छुटेको बस रौतहटमा पल्टियो

काठमाडौं । रौतहटको चन्द्रपुरमा सोमबार बिहान भएको बस दुर्घटनामा १० जना घाइते भएका छन् । घाइतेमध्ये धेरैजसो भारतीय नागरिक रहेको प्रहरीको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ ।
काठमाडौँबाट महोत्तरीको भिट्ठामोडतर्फ जाँदै गरेको बा.प्र-०१-००६ ख. ५२१६ नम्बरको यात्रुबाहक बस पूर्वपश्चिम राजमार्गअन्तर्गत चन्द्रपुर नगरपालिका क्षेत्रमा अनियन्त्रित भई सडकबाट तल खस्दा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी दीपककुमार रायका अनुसार, तीव्र गतिका कारण चालकले बसको नियन्त्रण गुमाएका थिए भन्ने प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटनामा घाइते भएका सबै यात्रुको चन्द्रपुरस्थित चपुर प्रालि अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनापछि बसका चालक घटनास्थलबाट फरार भएका छन् । उनको खोजी भइरहेको डीएसपी रायले जानकारी दिए । घाइतेबाहेकका १५ यात्रुलाई अर्को सवारी साधनमार्फत गन्तव्यतर्फ पठाइएको पनि प्रहरीले जनाएको छ ।








