सिस्टम छैन, समस्या यहीँ हो : माधव सापकोटा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता माधव सापकोटाले मुलुकमा सबैभन्दा ठूलो खाँचो ‘सिस्टम’को भएको बताएका छन् ।
आइतबार ललितपुरमा आयोजित ‘सद्गमय सिजन–२’ को समापन समारोहमा बोल्दै सापकोटाले सार्वजनिक यातायातदेखि अस्पताल, सिंहदरबारभित्रसम्म विभिन्न जटिलता, समस्या र चुनौतीहरू विद्यमान रहेको उल्लेख गरे। उनले ती सबैको मूल कारण ‘सिस्टमको अभाव’ भएको प्रस्ट पारे ।
‘नेपालमा केही छैन भन्ने कुरा गलत हो,’ उनले भने, ‘तर आजको मुख्य समस्या भनेको सिस्टमको नहुनु हो । सार्वजनिक यातायात चढ्न गाह्रो, अस्पतालमा उपचार पाउन गाह्रो, सिंहदरबारभित्रै व्यवस्था छैन ।’
नेता सापकोटाले पछिल्लो १० वर्षको अवधिमा पूर्वाधार निर्माणदेखि मानव विकास सूचकाङ्कसम्ममा सकारात्मक परिवर्तन देखिएको जिकिर गर्दै भने, ‘बिस्तारै विकास र सुधार हुँदै गएको छ। प्रधानमन्त्रीको उपस्थितिमा नयाँ संरचनाहरू उद्घाटन भइरहेका छन्, जसले नयाँ आशा बोकेको छ ।’
तर नागरिकले सहज रूपमा स्वास्थ्य सेवा लिन नसक्नु, प्रशासनिक प्रणालीमा पारदर्शिता नहुनु र दैनिक जीवनमा प्रणालीको अभाव हुनुले प्रणालीगत सुधारको खाँचो देखाएको उनले बताए ।
‘एउटा नागरिकले सहज रूपमा अस्पतालमा गएर लाइन बसेर कुपन लिएर उपचार गर्न सक्ने अवस्था हामीले बनाउन सकेका छैनौं। यहीँबाट हाम्रो कमजोरी देखिन्छ,’ सापकोटाको भनाइ थियो ।
उनले विधिमा बस्न र विधिको विकासलाई संस्थागत गर्नेसम्बन्धी बहस आवश्यक रहेको पनि बताए ।








