संविधान पुनरावलोकनको समय आएको छ : एमाले नेता भट्टाई

काठमाडौं । नेकपा (एमाले)का नेता विशाल भट्टाईले संविधान निर्माण भएको दशक पूरा भइसकेको अवस्थामा अब यसको पुनरावलोकन आवश्यक रहेको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित टेलिभिजन कार्यक्रम ‘सद्गमय सिजन २’ को समापन समारोहलाई सम्बोधन गर्दै नेता भट्टाईले संविधानमा नै प्रत्येक दस वर्षमा पुनरावलोकन गर्न सकिने प्रावधान रहेको स्मरण गराउँदै राजनीतिक दलहरू त्यसका लागि अग्रसर हुनुपर्ने आवश्यकता औंल्याए ।
‘संविधान निर्माण गरेको र राज्यको पुनर्संरचना गरेको एक दशक जति पुग्यो,’ भट्टाईले भने, ‘हामीले यो अवधिमा के–के त्रुटि भए भन्ने मूल्यांकन गर्नुपर्छ । संविधानले नै प्रत्येक १० वर्षमा पुनरावलोकन गर्न सकिन्छ भनेको छ। अब समय आएको छ ।’
उनले संविधानकै विशेषताका बाबजुद जनस्तरमा देखिएको असन्तोषलाई सम्बोधन गर्दै राजनीतिक दलहरूले गम्भीर समीक्षा गर्नुपर्ने बताए। ‘हामीले उत्कृष्ट संविधान बनायौं, राम्रो पुनर्संरचना ग¥यौं भनेर दाबी ग¥यौं । तर जनताले जहाँ आलोचना गरिरहेका छन्, त्यसलाई अब बेवास्ता गर्न मिल्दैन,’ उनले भने ।
सरकारमा रहेका दलसँग दुई तिहाई नपुगेको अवस्थामा राष्ट्रका महत्त्वपूर्ण एजेन्डामा विपक्षी दलले पनि साथ दिनुपर्नेमा भट्टाईले जोड दिए । ‘सरकारमा बस्नेहरूको दुई तिहाई छैन, तर देशको माया छ भने प्रतिपक्षले साथ दिएर संविधान संशोधन गर्दा केही फरक पर्दैन,’ उनले भने ।
कार्यक्रममा सञ्चारकर्मी टिकाराम यात्रीले ‘सद्गमय’ले मुलुकका विविध क्षेत्रका बेथिति र समस्यालाई उजागर गर्नुका साथै समाधानको बाटो पनि देखाएको दाबी गरे ।
जलवायु परिवर्तनदेखि विकास निर्माण र राजनीतिक नेतृत्वको उत्तरदायित्वसम्मका विषयमा कार्यक्रमले सकारात्मक प्रभाव पारेको उनको भनाइ थियो ।








