सांसद डा. शर्माको प्रश्न– ‘५ वटा जिल्लाबाहेकका मान्छे नेपाली होइनन् ?’

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले सरकारले मुलुकका अधिकांश जिल्लाका जनताप्रति विभेदपूर्ण व्यवहार गरेको भन्दै कडा प्रश्न उठाएका छन् ।
आईतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै शर्माले प्रधानमन्त्री र मन्त्रीहरूलाई लक्षित गर्दै भने, ‘५ वटा जिल्लाका मात्र नेपाली नागरिक हुन त ? कर्णाली, मुगु, मुस्ताङ, मधेस, तराई, पहाडका बाँकी ७२ जिल्लाका नागरिक नेपाली होइनन् ?’
सरकारले केही जिल्लामा मात्रै बजेट केन्द्रित गरेको आरोप लगाउँदै उनले संसद्मा प्रश्नै प्रश्न तेर्साए । ‘त्यहाँका नागरिकलाई पानी खान पाइदिए हुन्थ्यो, किसानका लागि कुलो बनाइदिन पाइन्थ्यो, सिँचाइका लागि एउटा बोरिङ गाडिदिन पाए हुन्थ्यो भन्ने लाग्दैन ?’ उनले प्रश्न गरे ।
प्रधानमन्त्री र मन्त्रीहरूमा नागरिकप्रति दया र जिम्मेवारीको भावना नरहेको टिप्पणी गर्दै शर्माले भने, ‘तपाईंहरू देशको मन्त्री हो कि सानो झुन्डका मात्रै ? तपाईंहरू एक्लै चुनाव जितेर आउनुभएको हो ? त्यसो हो भने गठबन्धन किन गर्नु ?’
उनले आगामी आर्थिक वर्षको बजेट तत्काल संशोधन गरी समन्यायिक बनाउनुपर्ने माग समेत गरे । ‘अब यही ५ जिल्लाका मान्छेहरूले मात्रै रुख र सूर्यमा भोट हाले पुग्ने हो ? यस्तो बजेट ल्याएर तपाईंहरूले सदन चलाउन सक्नुहुन्छ ?’ शर्माले गम्भीर रूपमा प्रश्न गरे ।








