सुन काण्डमा पक्राउ परेकी माओवादी नेतृ रोकाविरुद्ध थुनछेक बहस जारी

काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकाविरुद्धको मुद्दा काठमाडौं जिल्ला अदालतमा पेश भएको छ । उनीविरुद्धको पेशी न्यायाधीश बलराम लम्सालको इजलासमा परेको हो ।
सरकारी वकिल कार्यालयमार्फत अदालत उपस्थित गराइएको रोकाको बयान सकिएसँगै आजै थुनछेक बहस गर्ने तयारी गरिएको छ । बहस सकिएपछि रोकालाई धरौटी, तारेख वा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने निर्णय हुने छ ।
रोकालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गएको शुक्रबार काठमाडौंको टोखा क्षेत्रबाट पक्राउ गरेको थियो । उनको खोजीका लागि इन्टरपोलमार्फत डिफ्यूजन नोटिससमेत जारी गरिएको थियो ।
अमला रोकाको नाममा ठमेलस्थित होटल भियना दर्ता रहेको छ । उनी सुन तस्करीमा संलग्न रहेको अभियोगमा पक्राउ परेका बेल्जियम नागरिक दावा छिरिङकी श्रीमतीसमेत हुन् । अमला रोल्पाकी माओवादी नेतृ समेत हुन् । रोकासँग विवाह गरेपछि छिरिङले माओवादी नेताहरुसँग सम्बन्ध विस्तार गरेको बताइएको छ ।
२०७९ साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पास गरी बाहिरिएको ६१ किलो सुन बरामद भएको थियो ।
प्रारम्भिक अनुसन्धानपछि राजस्व अनुसन्धान विभागले सो प्रकरण थप अनुसन्धानका लागि सीआईबीलाई जिम्मा दिएको थियो ।








