पिताजीको नामका योजनाबाट देश अघि बढ्न सक्दैन : सूर्य थापा

काठमाडौँ । नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीले शहरी विकास मन्त्रालयको कार्यशैलीप्रति कडा आलोचना गरेका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद क्षेत्रीले शहरी विकास मन्त्रालयलाई अहिले सबैभन्दा अस्तव्यस्त र लथालिङ्ग अवस्थामा रहेको टिप्पणी गरे ।

‘शहरी विकास मन्त्रालय आज सबैभन्दा अस्तव्यस्त र लथालिङ्ग मन्त्रालय देखिएको छ,’ उनले भने, ‘जनताको जीवनस्तर उठाउनेतिर ध्यान गएको छैन, ससाना टुक्रा र नेताका अझ आफ्ना पिताजीको नामका योजनाबाट देश अघि बढ्दैन ।’

उनले बजेटमा समेटिएका साना टुक्रे योजनाहरू हटाउनुपर्ने धारणा राखे । यस्ता योजनाबाट देश अघि नबढ्ने भन्दै सांसद क्षेत्रीले संघीय बजेट नीति नै स्पष्ट र सबल हुनुपर्नेमा जोड दिए ।

‘तीन करोडका योजना सांसदहरूको सिफारिसका लागि मात्र होइन, संघीय विनियोजनका लागि सबैमा लागू हुनुपर्छ,’ उनले भने, ‘तीन करोडभन्दा कमका योजना छुट्याइएका छन् भने, चाहे त्यो शहरी विकास होस् या पर्यटन, खेलकुद, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय नै किन नहोस्, यस्ता योजना कार्यान्वयन गर्नु हुँदैन, रोक्नुपर्छ ।’

सांसद क्षेत्रीले वर्तमान अभ्यास सांसदहरूलाई देखाउने ‘तीन करोडको सीमा तोक्ने र आफैँले मनपरी गर्ने’ प्रवृत्ति बन्द हुनुपर्ने बताए ।

उनका अनुसार योजनाहरू व्यक्ति र पहुँचअनुसार होइन, राष्ट्रिय आवश्यकता र दीर्घकालीन दृष्टिकोण अनुरूप तय गर्नुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =