रास्वपाको विरोध र राप्रपाको बहिष्कारबीच संसद बैठक जारी

काठमाडौँ । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विरोध र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को बहिष्कारबीच प्रतिनिधिसभाको बैठक आइतबार प्रारम्भ भएको छ ।

विनियोजन विधेयक, २०८२ अन्तर्गत राष्ट्रपति, उपराष्ट्रपतिसहितका विभिन्न मन्त्रालयहरूको बजेट शीर्षकमाथि छलफल तय गरिएको बैठकको सुरुवातसँगै रास्वपा र राप्रपाका सांसदले विरोध जनाउँदै उठेका थिए ।

सभामुख देवराज घिमिरेले बैठक सञ्चालन गर्न वातावरण बनाउन आग्रह गरे पनि रास्वपा सांसदहरु नाराबाजी गर्दै वेल घेर्न पुगेका छन् ।

सभामुख घिमिरेले आर्थिक विधेयक पारित गर्नु पर्ने बाध्यता रहेको भन्दै सांसदहरुलाई बैठकमा सहजीकरण गर्न अपिल गरेका थिए । तर विरोध कायमै रहँदा बैठक नियमित कार्यसूचीमा प्रवेश गरेको छ ।

रास्वपाका सांसद अशिम शाहले ‘भिजिट भिसा’ प्रकरणमा निष्पक्ष छानबिन नभएसम्म विरोध जारी रहने बताए ।

उनले एक महिनादेखि सदन अवरुद्ध भइरहे पनि सरकारले सुनुवाइ नगरेको गुनासो गरे । उता, राप्रपाका धवलशमशेर राणाले तीनकुने घटनाको निष्पक्ष छानबिन गर्न माग गरे ।

सत्तापक्षका सांसदहरुले पनि सभामुखसँग बैठक सञ्चालनमा सहजता ल्याउन आग्रह गर्दै रास्वपा तथा राप्रपाका सांसदहरुलाई अवरोध नगर्न अपिल गरेका छन् ।

आजको बैठकमा युवा तथा खेलकुद मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, अर्थ मन्त्रालय, सहरी विकास मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपतिको कार्यालयसम्बन्धी विनियोजन शीर्षकमाथि छलफल हुने कार्यसूची रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − eighteen =