सरकारले कर आतंक सिर्जना गरी अर्थतन्त्र ड्यामेज गर्‍यो : प्रभु साह

काठमाडौँ । आम जनता पार्टीका सांसद प्रभु साहले सरकारले कर आतंक फैलाएर मुलुकको अर्थतन्त्र तहसनहस बनाएको आरोप लगाएका छन् ।

आईतबार प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद साहले उत्पादन लागत बढ्नु, व्यापारमा मन्दी आउनु र उद्योग क्षेत्र चौपट हुनुको मुख्य कारण सरकारको कर नीति रहेको बताए ।

उनले सरकारले बजेटमार्फत घरेलु पुँजी संरक्षण गर्नुको सट्टा पूँजी पलायनलाई सहयोग पुग्ने नीति लिएको आरोपसमेत लगाए ।

‘आज हाम्रा उद्योग चौपट छन्, व्यापार लथालिङ्ग छन्,’ सांसद साहले भने, ‘हिजो ५० हजारको कारोबार हुने ठाउँमा आज २५ हजार पनि नहुने स्थिति आएको छ । यसको एउटै कारण हो— कर आतंक ।’

उनले करको नाममा व्यवसायीलाई अत्यधिक दबाब दिइएको र सरकारले उद्योगी–व्यवसायीलाई राहत दिने सोच नै नलिएको बताए । ‘सरकार पिच्छे कर आतंक छ,’ साहले भने, ‘उत्पादन महँगो भएको छ, जसले अर्थतन्त्रलाई नै ड्यामेज बनाएको छ ।’

सांसद साहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको विनियोजन विधेयकमाथिको छलफल भइरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थिति आपत्तिजनक रहेको टिप्पणी पनि गरे । उनले भने, ‘प्रधानमन्त्री संसदबाट भाग्दै हुनुहुन्छ, यो निन्दनीय छ ।’

त्यसैगरी सांसद साहले सरकार र भ्रष्टाचारलाई पर्यायवाचीजस्तै बनाइएको टिप्पणी गर्दै सुशासन र जवाफदेहिताको कमीले मुलुक थप संकटमा गएको धारणा राखे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + twenty =