तीनकुने घटना दुर्गा प्रसाईंका कारण होइन, राज्यका कारण भयो : धवल शमशेर जबरा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवलशमशेर राणाले चैत १५ गतेको तीनकुने घटनाको जिम्मेवारी राज्यले लिनुपर्ने बताएका छन् ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद राणाले तीनकुनेमा भएको घटना आफूहरू वा कुनै व्यक्तिको कारण नभई राज्यको असंवेदनशीलताका कारण भएको टिप्पणी गरे । उनले सो घटनाको निष्पक्ष छानबिनका लागि समिति गठन गर्न पनि सरकारसँग माग गरेका छन् ।

‘चैत १५ गतेको तीनकुने घटना हाम्रो कारणले नभई राज्यको कारणले भएको हो’, सांसद राणाले भने, ‘दुर्गा प्रसाईंजी पनि निमुखा जनताको सेवा गर्न लाग्नु भएको हो । उहाँले पनि होइन । राज्यले जनता भड्काएको कारणले त्यो आतंक भएको हो ।’

राणाले सरकार किन छानबिन गर्न डराइरहेको छ भन्ने प्रश्न पनि उठाए । ‘सभामुखज्यू, त्यसको लागि पनि हामीले छानबिनको माग गरेका छौँ,’ उनले भने, ‘सरकार छानबिन गर्न किन डराइरहेको छ ?’

राप्रपा सांसद राणाले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्षमा उभिँदै प्रसाईंलाई निमुखा जनताको सेवामा समर्पित व्यक्ति भएको बताए ।

उनले घटनाबारे सत्यतथ्य पत्ता लगाउन निष्पक्ष छानबिन समिति गठन गरेर दोषीमाथि कारबाही गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =