केप टाउन कन्भिन्सनको पक्ष राष्ट्र बन्ने प्रक्रियामा नेपाल

काठमाडौं । नेपाल सरकारले हवाईजहाज भाडामा लिन सजिलो बनाउने उद्देश्यले ‘केप टाउन कन्भिन्सन’ को पक्ष राष्ट्र बन्ने प्रक्रिया अघि बढाउने प्रक्रिया सुरु गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले आइतबार बसेको संघीय संसद अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा यसबारे जानकारी दिएका छन् ।

मन्त्री पाण्डेले केप टाउन कन्भिन्सनको पक्ष राष्ट्र बन्ने प्रस्ताव मन्त्रीपरिषदमार्फत संसदमा पेस गरेर अनुमोदन गरिने तयारी सरकारले गरिरहेको जानकारी दिए । ‘जहाज लिजमा लिँदा पारदर्शिता र विश्वास कायम गर्न अन्तर्राष्ट्रिय कानुनी संरचना आवश्यक हुन्छ, त्यसैले हामी यो प्रक्रियामा गइरहेका छौँ,’ उनले भने ।

मन्त्री पाण्डेले आर्थिक अभावका कारण नेपालले जहाज किन्नेभन्दा पनि लिजमा लिने सम्भावनातर्फ गम्भीर छलफल अघि बढाएको बताए ।

यसका लागि पारदर्शिता र विश्वसनीयता सुनिश्चित गर्न केप टाउन कन्भिन्सनको सदस्यता आवश्यक रहेको उनको भनाइ थियो । ‘संसारभर झण्डै ६० प्रतिशत जहाज लिजमा चलिरहेका छन्,’ मन्त्री पाण्डेले भने, ‘हामी पनि पारदर्शिता कायम गर्दै लिज प्रक्रियामा जान चाहन्छौँ ।’

अन्तर्राष्ट्रिय उडानमा ९० प्रतिशत विदेशी एयरलाइन्सको वर्चस्व

बैठकमा मन्त्री पाण्डेले नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय यात्रु ओसारपसारमा मात्र १० प्रतिशत हिस्सा रहेको उल्लेख गरे । बाँकी ९० प्रतिशत विदेशी एयरलाइन्सले ओगटेको हुँदा भाडा नियन्त्रणमा समस्या परेको उनको भनाइ छ । ‘नेपाल एयरलाइन्सको क्षमता ५० प्रतिशत पुगेको भए एउटै भाडादर कायम गरेर बजारमा सन्तुलन ल्याउन सकिन्थ्यो,’ मन्त्री पाण्डेले भने ।

हाल नेपाल एयरलाइन्ससँग दुईवटा न्यारोबडी, दुईवटा वाइडबडी र दुईवटा ट्विनअटर जहाजमात्र सञ्चालनमा रहेका छन् । तीमध्ये कुनै एक बिग्रिँदा पनि सेवा प्रभावित हुने अवस्था देखिएको मन्त्री पाण्डेले स्पष्ट गरे ।

मन्त्री पाण्डेले सन् २०७३ मा निर्धारण गरिएको आन्तरिक उडानको भाडादर अझै पनि कायम रहेको भन्दै निजी क्षेत्रले लगातार गुनासो गरिरहेको जानकारी दिए । ‘इन्धनको मूल्य, उपकरणको लागत सबै बढिसकेको छ तर १० वर्ष पुरानो दरमा उड्नुपर्दा एयरलाइन्सहरु घाटामा छन्,’ उनले भने ।

अहिलेको व्यवस्थाअनुसार लोअर लिमिट र अपर लिमिट बीच भाडा लिन पाइने हुँदा चाप नभएको समयमा टिकट सस्तोमा र चाप भएको बेलामा महँगोमा विक्री हुने गरेको उल्लेख गर्दै उनले भाडादरको पुनरावलोकन आवश्यक रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 1 =