खेलाडीहरूको जस्तो पवित्र भावना शासकहरूमा भइदिए मानिसहरु ढुक्कसँग निदाउन सक्थे : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य जीवनका लागि अपरिहार्य रहेको बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्वास्थ्य सबैभन्दा ठूलो धन भएको बताएका हुन् ।

उनले शारीरिक र मानसिक, पारिवारिक, समुदायको स्वास्थ्य, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्वास्थ्य समेतलाई व्यक्तिगत शारीरिक र मानसिक स्वास्थ्यले समेटिरहेको बताए ।

उनले युद्धरत देशका शासकहरूको मस्तिष्कमा शान्ति, मानवताको भाव आउनुपर्ने बताए । उनले अरूको देशमा हमला गरेर, मान्छे मारेर जित्ने नभई खेल खेलेर जित्नु उचित हुने बताए । खेलाडीहरूको जस्तो पवित्र भावना विश्वका शासकहरूमा भइदिने हो भने दुनियाँ धेरै शान्तिपूर्ण हुने र ढुक्कसँग मानिसहरु निदाउन सक्ने जिकिर गरे ।

प्रधानमन्त्री ओलीले भने ‘स्वास्थ्य जीवनका लागि अपरिहार्य छ । राम्रो स्वास्थ्य हुनुपर्दछ । आज योग दिवस पनि हो । स्वास्थ्य सबैभन्दा ठूलो धन हो । जीवनका लागि सबैभन्दा महत्वपूर्ण कुरा हो । स्वास्थ्यपछि मात्रै अरु चिज आउँछ । शारीरिक र मानसिक स्वास्थ्य, पारिवारिक स्वास्थ्य, समुदायको स्वास्थ्य, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्वास्थ्य समेतलाई व्यक्तिगत शारीरिक र मानसिक स्वास्थ्यले कतिपय कुरामा गाइड गरिरहेको हुन्छ । आज दुनियाँमा कता विभिन्न ठाउँमा युद्ध भइरहेको छ । ती युद्धकारीहरूको मस्तिष्कमा शान्ति, मानवताको भाव आउनुपर्छ । अर्को देशमा हमला गरेर, मान्छे मारेर, फलानोलाई मार्छु भनेर जित्नु भन्दा खेल खेलेर जित्नु राम्रो हुन्थ्यो । खेलाडीहरूको जस्तो पवित्र भावना विश्वका शासकहरूमा भइदिने हो भने दुनियाँ धेरै शान्तिपूर्ण हुन्थ्यो । रमणीय हुन्थ्यो, ढुक्कले सुत्नसक्ने हुन्थ्यो । निर्दोष बालबालिका मारिनुपर्ने थिएन । हस्पिटलमा भएका बिरामी, गर्भभित्रै भएका बिरामी मारिनुपर्ने थिएन । ’

प्रधानमन्त्री ओलीले शान्ति र मित्रताको पक्षमा खेलको धेरै महत्त्व रहेको बताए । सरकारको स्वास्थ्य नीतिको मूल नीति नै निरोगी नेपाल रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =