निजी क्षेत्रले व्यापार गर्नसक्ने कानुनी व्यवस्था गरेर मात्रै टेक एण्ड पेमा जानुपर्छ : शक्तिबहादुर बस्नेत

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले जलश्रोत विधेयक जसरी नै विद्युत् विधेयक फिर्ता लिए ठूलो संकट निम्तिने बताएका छन् ।
प्रतिनिधि सभाको शनिवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा गइरहेको विधेयक फिर्ता गर्नुले सरकारको जबाफदेहिता स्पष्ट हुने बताए । उनले सरकार विधेयक र कानुन निर्माणप्रति जिम्मेवार हुन नसकेको आरोप लगाए । निजामती ऐन छिटो भन्दा छिटो संसदबाट पारित हुनुपर्ने बताए ।
सांसद बस्नेतले भने ‘सरकारले जलश्रोत विधेयक जस्तो विद्युत् विधेयक पनि फिर्ता गरिदियो भने अर्को डिजास्टर हुनेवाला छ । जलश्रोत विधेयक जस्तै विद्युत् विधेयक पनि फिर्ता लिने । निजामती सेवा ऐनको बारेमा माननीयज्यू यहाँ भन्दै हुनुहुन्थ्यो । सरकार विधेयक र कानुन निर्माणप्रति त्यति जिम्मेवार र जबाफदेही भइरहेको जस्तो त लागिरहेको छैन । प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा पुगिरहेको विधेयक फिर्ता गर्ने निर्णय सरकार गर्दछ । सरकारको जबाफदेहिताको बारेमा त यो भन्दा थप कुरा के भन्नु ।’
सांसद बस्नेतले निजी क्षेत्रले व्यापार गर्नसक्ने कानुनी व्यवस्था नगरी टेक एण्ड पेमा जाँदा २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादनको योजना लथालिङ्ग हुने बताए ।








