प्राप्त अधिकारको रक्षा गरौँ : उपप्रधानमन्त्री सिंह

काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले प्राप्त अधिकारको सुरक्षाका लागि सबै लाग्नुपर्ने बताएका छन् ।
शनिवार काठमाडौंमा नेशनल किक बक्सिङ एशोसिएशन्द्वारा आयोजित तेस्रो मंगलादेवी स्मृति प्रो कि किक बक्सिङको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
अहिलेको अधिकार मंगलादेवी सिंह जस्ता नारीहरूले लडेर ल्याएको जिकिर गरे । उनले मंगलादेवी सिंहको नेतृत्वमा संगठन गर्न, महिला संगठित हुन र महिलालाई मताधिकार मात्रै नभई पैतृक सम्पत्तिमा पनि महिलाको हक छोराहरूको समान हुनुपर्छ भनेर लडेको बताए ।
उपप्रधानमन्त्री सिंहले भने ‘जसले हामीलाई यो खेल खेल्न अधिकार दिएको छ, जुन बोल्ने अधिकार दिएको छ । संगठन गर्न नपाउने समयमा लडेर अहिलेको अवस्था छ । महिलाहरू संगठित गरेर महिलाहरूको आवाजलाई अघि बढाउनुपर्छ, महिलालाई भोटिङ राइट्स मात्रै नभएर पैतृक सम्पत्तिमा पनि महिलाको हक छोराहरूको समान हुनुपर्छ भनेर मंगलादेवी सिंहले राजनीतिक नेतृत्व गर्नुभएको थियो । यसको महत्त्व अझ बढेको छ ।’
उपप्रधानमन्त्री सिंहले खेलकुदले अनुशासन सिकाउने बताए । खेल क्षेत्रमा नेपालको सहभागिता बढिरहेको बताए ।








