राप्रपा सांसदको प्रश्न : एक करोड दैनिक आम्दानीको हिस्सा गठबन्धन सरकारका टाउकेहरूले पनि खाएका त छैनन् ?

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले भिजिट भिसा प्रकरणबारे उच्चस्तरीय छानबिन हुनुपर्ने बताएकी छन् ।
शनिवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
उनले आफूहरूले जनताको आवाज उठाउँदा पनि सरकार बेखबर रहेकोप्रति चिन्ता व्यक्त गरिन् । रुस, युक्रेन सेनामा रहेका नेपालीहरू पनि भिजिट भिसाबाटै त्यहाँ पुगेको बताइन् ।
गृहमन्त्रीले भिजिट भिसा प्रकरणमा जोडिएको आरोप लगाउँदै आफूहरूले राजीनामा माग गरेको बताइन् । गठबन्धन दलसँग पनि सुशासन कायम गर्ने भए गृहमन्त्रीलाई बर्खास्त गर्नुपर्ने माग गरिन् । एक करोड दैनिक आम्दानीको हिस्सा गठबन्धन सरकारका टाउकेहरूले पनि खाएका त छैनन् रु भन्दै प्रश्न गरिन् ।
उनले भनिन् ‘हामीले नेपाली जनताको लागि आवाज उठाएका छौँ । रसियामा गएर काल कुरेर बसेका दाजुभाइको लागि हामीले आवाज उठाएका छौँ । यो जाने बाटो भिजिट भिसाको हो । हाम्रा दाजुभाइ दिदिबहिनीहरु बेचिएका छन् । उनीहरूमार्फत लाखौँ रुपैयाँ असुल गर्ने जस्तो निर्लज्जता केही पनि छैन । भिजिट भिसा प्रकरणबारे उच्चस्तरीय छानबिन हुनुपर्छ । गृहमन्त्रीज्यू पनि अहिले त्यो दायरामा आउनुभएकाले उहाँको राजीनामा माग गरेका छौँ । हाम्रो माग जायज छ ।’
सांसद कार्कीले पैसा कमाउन देश पनि बेच्ने हो ? भन्दै प्रश्न गरे । अविलम्ब उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने बताए । गृहमन्त्री रमेश लेखकले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताइन् ।








