विरोध जारी रहेसँगै प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइयो

काठमाडौँ । प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइएको छ ।
शुक्रवार बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम राखिएको थियो । जसमा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले उठेर विरोध जनाएसँगै प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम विशेष कारणले कार्यसूचीबाट हटाइएको सभामुख देवराज घिमिरेले बताए । सभामुख घिमिरेले रास्वपा र राप्रपा सांसदहरूलाई बारम्बार संसदमा अवरोध नगरी आसनग्रहण गर्न आग्रह गरे । तर रास्वपा र राप्रपाले विरोध जारी राखेपछि आजको लागि प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइएको सभामुखले जानकारी गराए ।
उनले भने ‘माननीय सदस्यहरू संसदमा समय लिएर बोल्नुपर्छ । संसदलाई नियमबद्ध रुपमा सञ्चालन गर्नुपर्छ भनेर नियम बनाएका छौँ । आज हाम्रो विनियोजन शीर्षकमाथिको छलफल जारी रहन्छ । त्यो भन्दाअघि प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको कार्यक्रम राख्नुपर्छ । माननीय सदस्यहरूको विरोध र असहयोगका साथै यहाँको वातावरण उचित ढंगको नभएको हुँदा म आज प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम विशेष कारणले गर्दा कार्यसूचीबाट हटाएको ब्यहोरा जानकारी गराउँछु ।’
संसदलाई नियमबद्ध रुपमा अघि बढाउनुपर्ने बताए ।








