त्रिकोणात्मक टी-२० आई सिरिज

नेदरल्याण्ड्समाथि सानदार जितसहित नेपाल शीर्ष स्थानमा, आज स्कटल्याण्डसँग उपाधि भिडन्त

काठमाडौं । स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले शानदार जित दर्ता गर्दै शीर्ष स्थानमा उक्लिएको छ । बिहीबार सम्पन्न सिरिजको तेस्रो खेलमा नेपालले नेदरल्याण्ड्सलाई ६ विकेटले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

पहिलो खेलमा रोमाञ्चक त्रिकोणात्मक सुपर ओभर खेलेको नेपालले दोस्रो खेलमा अपेक्षा अनुरूप प्रदर्शन गर्न नसके पनि, तेस्रो खेलमा उत्कृष्ट पुनरागमन गर्दै १ सय ७५ रनको चुनौती सफलतापूर्वक पार गर्‍यो ।

ओपनर कुशल भुर्तेलले ५१ बलमा ६ चौका प्रहार गर्दै ६५ रनको शान्दार अर्धशतकीय पारी खेले । यो टी-२० अन्तर्राष्ट्रियमा उनको ११औँ अर्धशतक हो । त्यस्तै, आरिफ शेखले २३ बलमा ३ चौका र २ छक्का हान्दै ३९ रन जोडे । अन्त्यतिर लोकेश बम (४ बलमा १२*) र दीपेन्द्र सिंह ऐरी (१२ बलमा १६*) को विस्फोटक पारीले जित सहज बनाए ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७४ रन बनाएको थियो । ओपनर माइकल लेभिटले आक्रामक शैलीमा ५३ बलमा ६ चौका र ५ छक्का हान्दै ८६ रन बनाएका थिए । बुधबारको खेलमा पनि उनले ९० रन बनाएका थिए ।

नेदरल्याण्ड्सका लागि रोएलफ भ्यान डेर मेर्वेले ३६ रन बनाए भने आर्यन दत्तले १७ र साकिब जुल्फिकारले १४ रनको योगदान दिए । नेपालका बलरहरूमध्ये करण केसीले २ विकेट लिए । सन्दीप लामिछाने, ललित राजवंशी, दीपेन्द्र ऐरी र रुपेश सिंहले १–१ विकेट लिए ।

यो जितसँगै नेपालले तीन खेलमा दुई जित र एक हारका साथ अंक तालिकाको शीर्ष स्थानमा स्थान बनाएको छ ।
नेदरल्याण्ड्स भने दोस्रो स्थानमा झरेको छ र अब उसले सिरिज जित्न सक्ने सम्भावना गुमाइसकेको छ ।

नेपालले आज सिरिजको चौथो तथा अन्तिम खेलमा आयोजक स्कटल्याण्डको सामना गर्नेछ । यो खेलमा विजयी हुने टिमले नै सिरिज जित्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + four =