भिजिट भिसा प्रकरणलाई जनयुद्धकालीन मुद्दासँग साँठगाँठ गरेका छैनौँ : वर्षमान पुन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले भिजिट भिसा प्रकरणलाई जनयुद्धकालीन मुद्दासँग साटफेर गरिएको भन्ने टिप्पणी असान्दर्भिक भएको स्पष्ट पारेका छन् ।

बिहीवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पुनले भिजिट भिसा प्रकरणमा सरकारसँग भएको सहमतिलाई सत्ता साझेदारी वा संक्रमणकालीन न्यायसँग जोड्नु तथ्यविहीन भएको बताए ।

‘सत्ता साझेदारी वा जनयुद्धकालीन मुद्दासँग साटासाट भएको भन्ने कुरामा कुनै सत्यता छैन,’ पुनले भने, ‘त्यस्ता टिप्पणीहरू पूर्णतः असान्दर्भिक छन् ।’

उनले संक्रमणकालीन न्यायसम्बन्धी कामहरू सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमार्फत अघि बढिरहेको जानकारी दिँदै भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिनका लागि सरकारले अविलम्ब समिति गठन गर्नुपर्नेमा जोड दिए ।

‘समिति गठनको विषयमा सरकारलाई स्पष्ट कार्यादेशसहित अघि बढ्न आग्रह गर्छु,’ पुनले भने, ‘यदि सरकारले ठोस कदम चाल्छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका साथीहरूलाई पनि सम्झाउन सकिन्छ ।’

पुनले रास्वपालाई पनि संयमता अपनाउन सुझाव दिएका छन् । उनले भिजिट भिसा प्रकरणमा आन्दोलनलाई निरन्तरता दिनुभन्दा समस्या समाधानका लागि संवाद र सहकार्य गर्न आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + thirteen =