विधेयकमा राजनीति गर्न खोज्नु खेदजनक : महेश बर्तौला

काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले संसदमा प्रस्तुत भएका विधेयकहरूमाथि राजनीति गर्न खोज्नु खेदजनक भएको टिप्पणी गरेका छन् ।
बिहीवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै बर्तौलाले समितिबाट चार दिनअघि प्रस्तुत भएको प्रतिवेदनमा कुनै षड्यन्त्र, जालझेल वा आशंका गर्नुपर्ने कारण नरहेको स्पष्ट पारे ।
‘प्रतिवेदन चार दिनअघि नै संसदमा आइसकेको छ,’ उनले भने, ‘यसमा षड्यन्त्र छ, जालझेल भयो भनेर आशंका गर्नुको कुनै औचित्य छैन ।’
विनियोजन विधेयक संविधान बमोजिम रोक्न नसकिने भन्दै उनले संसद चलिरहेको अवस्थामा समयमै विधेयकहरू पारित गर्नु बाध्यात्मक अवस्था भएको बताए ।
बर्तौलाले प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) र अन्य विपक्षी दलहरू संसदमा अनावश्यक घमासानको वातावरण बनाउन खोजिरहेको आरोप लगाए । ‘उनीहरूको चाहना सत्ता पक्ष र अन्य विपक्षी दलहरूबीच द्वन्द्व सृजना गरियोस् भन्ने हो,’ उनले आरोप लगाए ।
रास्वपाले भिजिट भिसा प्रकरणलाई लिएर संसदमा विरोध गरिरहेको उल्लेख गर्दै उनले भने, ‘विरोध भइरहे पनि संविधानअनुसार विनियोजन विधेयक रोक्न सकिँदैन ।’
बर्तौलाले विभागीय मन्त्रीको समन्वयमा उपयुक्त समयमा विधेयक पारित गरिने स्पष्ट पार्दै संसदको न्यूनतम अभ्यासअनुसार विधेयक अघि बढ्ने बताए ।
‘हामी प्रतिक्षा गरिरहेका छौं कि प्रमुख प्रतिपक्षी दलहरूले पनि यो विधेयकमा भएको मिहिनेतको कदर गर्दै सरकारका पहलकदमीलाई धन्यवाद दिन्छन्,’ बर्तौलाले भने, ‘हामीलाई राजनीति गर्ने रुचि छैन, हाम्रो चाहना विधेयक छिटो पारित होस् भन्ने मात्रै हो ।’








