सीपयुक्त जनशक्ति नभएसम्म मुलुकको विकास हुन सक्दैन : श्रममन्त्री भण्डारी

ललितपुर । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले सीपयुक्त जनशक्ति नभएसम्म मुलुकको विकास हुन नसक्ने धारणा राखेका छन् ।
राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले आज आयोजना गरेको सरकारी तथा गैरसरकारी निकाय/संस्थासँग अन्तरक्रिया गोष्ठीमा मन्त्री भण्डारीले मुलुकभित्र सीपयुक्त दक्ष जनशक्ति उत्पादन गर्न मन्त्रालयले आन्तरिक रोजगार दशक लागू गर्न खोजिरहेको उल्लेख गरे ।
‘मन्त्रालयले आन्तरिक रोजगारीको सृजना गरेर अगाडि बढ्ने गरी योजना बनाइरहेको छ, बाध्यात्मक वैदेशिक रोजगारीलाई अन्त्य गर्न मन्त्रालय प्रयासरत छ, यसलाई निरुत्साहित गरिनुपर्छ । सूचना प्रविधिको सहयोगमा रोजगारीका अवसर सृजनामा केन्द्रित भएका छौँ’, उनले भने ।
मन्त्री भण्डारीले सरकारले दिएको रोजगारी मात्रै रोजगारी हो भन्ने भ्रमबाट मुक्त हुनुपर्छ भन्दै निजी क्षेत्रले सृजना गर्ने रोजगारी पनि महत्त्वपूर्ण हुने बताए ।
‘निजी क्षेत्रसँग सहकार्य र समन्वय गरी मुलुकको आर्थिक समृद्धि हासिल गर्ने मार्गमा मन्त्रालय लागिरहेको छ । वैदेशिक रोजगारीमा गएर आएकाको सीप कसरी उपयोग गर्न सकिन्छ भनेर सबै पक्षबिच छलफल र समन्वय गरी योजनाबद्ध रूपमा अघि बढ्नुपर्छ’, उनले भने ।
श्रममन्त्री भण्डारीले मन्त्रालयको जिम्मेवारी वैदेशिक रोजगारी मात्र नभई आन्तरिक रोजगारी बढाउने भएकाले मन्त्रालयमा आन्तरिक रोजगार महाशाखा स्थापना गरी काम गरिरहेको जानकारी दिए ।
उनले श्रम क्षेत्रमा आउने चुनौतीको सामना गर्न, वैदेशिक रोजगारीमा रहेकालाई नेपालमा फर्काएर रोजगारीको वातावरण सृजना गर्न सबै पक्षले जिम्मेवारी र जबाफदेही भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले सम्पदा क्षेत्रमा झिँगटीको छाना छाउने र पुरातात्त्विक महत्त्वका सम्पदा निर्माणमा जनशक्ति कम रहेकाले महानगरले आवश्यकतामा आधारित तालिमलाई जोड दिएको बताए ।
मन्त्रालयका सचिव डा कृष्णहरि पुस्करले राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले विभिन्न प्रकारका तालिम सुरु गरेको भन्दै राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारको मागअनुसार निजी क्षेत्रसँग सहकार्य गरेर तालिम सञ्चालनसँगै नीतिगत रूपमा सुझाव दिने काम भइरहेको बताए । प्रतिष्ठानले वास्तविकतामा आधारित गरेर दक्ष कामदार तयार गर्न सुरुवात भएको उनले जानकारी गराए ।
नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दिपक मलहोत्राले दक्ष जनशक्तिले मुलुकको विकासमा महत्त्वपूर्ण योगदान पु¥याउने भन्दै नेपालमा रोजगारको अवसरको सृजना हुने वातावरण बन्दै गएको धारणा राखे ।
घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले श्रम मन्त्रालयले प्रभावकारी काम गरिरहेको भन्दै दक्ष जनशक्ति निर्माणमा महासङ्घ सहकार्य गर्न तत्पर रहेको बताए ।
पाँच वर्षे रणनीतिक योजनाका बारेमा प्रस्तुतीकरण दिँदै प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमका विज्ञ डा रामहरि लामिछानेले सीप विकास तथा व्यावसायिक तालिमका क्षेत्रमा ६६ वर्ष लामो इतिहास भएको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले राष्ट्रिय तथा अन्तरराष्ट्रिय मागअनुसारको दक्ष जनशक्ति तयार गर्नसक्ने क्षमता रहेको धारणा राखे । प्रतिष्ठानसँग वैदेशिक रोजगारमा गएर फर्केकालाई पनि तालिम दिनुपर्नेमा उनले जोड दिए ।
कार्यकारी निर्देशक रमेशकुमार बखतीले रोजगारदातालाई आवश्यक दक्ष जनशक्ति निर्माणका लागि पाठ्यक्रम निर्माण गरी सोहीअनुसार तालिम दिएर आन्तरिक रोजगारलाई प्रवर्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।








