भिजिट भिसा प्रकरण कुनै दल विशेषको मुद्दा होइन : ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भिजिट भिसा प्रकरण कुनै दल विशेषको मात्र नभई साझा राष्ट्रिय मुद्दा भएको बताएका छन् । उनले सबै दलहरूलाई एक ठाउँमा आएर मानव बेचबिखनविरुद्ध एकजुट हुन अपिल गरेका छन् ।
शुक्रवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाहीले भिजिट भिसाको नाममा लाखौँ नेपालीहरू विदेशमा बेचिएर अलपत्र परेको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरे ।
उनले तत्कालै संसदीय छानविन समिति गठन गर्न माग गर्दै यस विषयमा लामो समयदेखि संलग्न सबै गृहमन्त्रीमाथि अनुसन्धान हुनुपर्ने धारणा राखे ।
सांसद शाहीले हालका गृहमन्त्री रमेश लेखक मात्र नभई २०६४ साल यता कार्यभार सम्हालेका १४ जना गृहमन्त्रीहरूमाथि पनि छानविन हुनुपर्ने बताएका छन् ।
उनले भने, ‘भिजिट भिसा प्रकरण कुनै दल विशेषको मुद्दा होइन, यो हामी सबैको साझा मुद्दा हो । जबसम्म यसबारे संसदीय छानविन समिति गठन हुँदैन, तबसम्म आन्दोलन जारी रहनेछ ।’
सांसद शाहीले संसदमा अवरोध भइरहँदा पनि जबरजस्ती बैठक अगाडि बढाउन खोजिए बैठक बहिस्कार गर्ने चेतावनी दिए । उनले सभामुखसँग संसदको मर्यादा र सहमतिको संस्कृति कायम गर्न आग्रह गरेका छन् ।








