दुर्व्यसनमुक्त समाज निर्माणमा स्काउटको योगदान प्रशंसनीय : उपराष्ट्रपति यादव

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले लागुपदार्थ दुव्र्यसनको चपेटामा परेका युवाहरुलाई सुधार गर्न नेपाल स्काउटका युवा–युवतीहरूलाई परिचालन गर्नु सकारात्मक पहल भएको बताएका छन् ।
नेपाल स्काउटको ७४ औं स्थापना दिवसको अवसरमा बिहीवार काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उपराष्ट्रपति यादवले स्काउटले समाजमा देखिएका विविध समस्याको समाधानमा सक्रिय भई उदाहरणीय कार्य गर्दै आएको उल्लेख गरे ।
उनले भने– ‘दुव्र्यसनीको चपेटामा परेका युवाहरुलाई दुव्र्यसनीमुक्त गराउन स्काउटका युवा युवतीहरुलाई परिचालन गर्नु राम्रो पक्ष हो। पछिल्लो समय मुलुकमा बढ्दो लागुपदार्थ दुव्र्यसनविरुद्धको अभियानमा स्काउटको सक्रियता सराहनीय छ ।’
उपराष्ट्रपतिले स्काउटद्वारा विपद् व्यवस्थापन तथा उद्धार कार्यमा देखाइएको सक्रियता संस्थाको उद्देश्य र लक्ष्यअनुरुपकै भएको बताउँदै स्काउटले सबै भूगोल, वर्ग र समुदायलाई समेट्दै समावेशी र व्यवस्थित ढंगले अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।
‘देशमा दक्ष विपद् व्यवस्थापन टोली गठन गरी उद्धार कार्यमा परिचालन गर्नु समावेशी सिद्धान्तको कार्यान्वयनको पुष्टि हो। स्काउट सदस्यहरूले यस क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरेका छन्’ उनले भने ।
महिला हिंसा विरुद्धको अभियान, किशोरी स्वास्थ्य सचेतना, महिला उद्यमशिलता तथा महिला नेतृत्व विकास जस्ता कार्यक्रमहरूलाई प्राथमिकता दिँदै अघि बढ्नुले नेपाल स्काउटको गरिमा र सम्मान उच्च बनाएको उपराष्ट्रपति यादवको भनाइ थियो ।
उनले युवा स्वयंसेवकलाई सामाजिक सेवा र विपद् व्यवस्थापनमा थप सक्रिय बनाउनु स्काउटको दीर्घकालीन लक्ष्य हुनुपर्ने उल्लेख गर्दै हालैको वर्ष २०८१÷०८२ मा ५० हजारभन्दा बढी युवा स्वयंसेवक परिचालन हुनु खुशीको कुरा भएको बताए ।
अन्त्यमा, उपराष्ट्रपतिले स्काउटले प्राकृतिक विपद् व्यवस्थापन, लागुपदार्थ दुव्र्यसन निवारण, महिला हिंसा विरुद्धको अभियान, किशोरी स्वास्थ्य तथा महिला उद्यमशिलताको प्रवद्र्धनमा केन्द्रित रही समाज रुपान्तरणमा अझ प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिए ।








