नाउपालाई झट्का

दोस्रो मन्त्री पनि मुछिए भ्रष्टाचारमा, मुख्यमन्त्रीले दिए राजीनामा गर्न निर्देशन

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरी मन्त्री नियुक्त भएको एक महिना पनि नपुग्दै पदबाट हट्ने अवस्थामा पुगेका छन् । कृषकलाई अनुदानमा दिइने पावर टिलर (हाते ट्याक्टर) वितरणमा आर्थिक लेनदेन गरेको गम्भीर आरोप लागेपछि मुख्यमन्त्री कमलबहादुर शाहले उनलाई राजीनामा दिन निर्देशन दिएका हुन् ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा)का तर्फबाट गत जेठ ४ गते मन्त्री बनेका चौधरीमाथि विभिन्न जिल्लाका किसानहरूसँग अनुदानको पावर टिलर उपलब्ध गराउने प्रलोभनमा रकम असुली गरेको आरोप छ । यो प्रकरण सतहमा आएपछि मुख्यमन्त्री शाहले उनलाई पदमा बसिरहन नैतिक संकट उत्पन्न भएको भन्दै राजीनामा दिन भनेका हुन् ।

नाउपाकै सांसद खुसीराम डगौरा थारूले मन्त्री चौधरीलाई राजीनामाका लागि निर्देशन आएको पुष्टि गरे । उनले भने, ‘विवादमा मुछिएपछि पदमा बसिरहनु उपयुक्त हुँदैन। उहाँले आफैँ राजीनामा दिनु नै उत्तम विकल्प हो । भोलि छानबिनबाट सफाइ पाउनुभयो भने राजनीतिक भविष्य सुरक्षित रहन्छ । बर्खास्तगीको सन्देश राम्रो जाँदैन ।’

पावर टिलर अनुदान प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान गरिरहेको छ । सिआइबीको अनुसन्धानमा मन्त्री चौधरीको नामसमेत जोडिएको सांसदहरूले बताएका छन् । यसका साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेकोले यो विषय थप गम्भीर बनेको छ ।

एक सांसदका अनुसार मन्त्री चौधरीले कैलालीदेखि दाङसम्मका व्यक्तिहरूबाट रकम उठाएको गुनासो पार्टीभित्र र बाहिर व्यापक रूपमा आएको थियो । ‘पैसा बुझाएका मानिसहरू दिनहुँजसो मन्त्रालयमा धाउन थालेपछि उहाँ सम्पर्कविहीन हुनुभयो । मोबाइलसमेत बन्द गरेर हिँडेपछि पीडितहरू प्रहरीसमक्ष पुगेका हुन्,’ ती सांसदले भने, ‘उहाँको नियत ठीक देखिएन, त्यसैले अब राजीनामाबाहेक अर्को विकल्प छैन ।’

एउटै मन्त्रालय, उस्तै विवादमा दोस्रो मन्त्री
यो मन्त्रालय नाउपाका लागि निरन्तर विवादको केन्द्र बन्दै आएको छ । यसअघि यही मन्त्रालय सम्हालेका नाउपाकै सांसद लक्ष्मणकिशोर चौधरी पनि वनसम्बन्धी कार्यविधि बनाउँदा लेनदेन गरेको विवादमा मुछिएपछि राजीनामा दिन बाध्य भएका थिए । एउटै मन्त्रालयमा उस्तै प्रकृतिको आरोपमा एकपछि अर्को मन्त्री पदमुक्तिको संघारमा पुग्नुले नाउपा र प्रदेश सरकारमाथि गम्भीर नैतिक प्रश्न खडा भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =