एमाले नेतृत्वको सामर्थ्यमा प्रश्न छैन तर कार्यकर्तामा उत्साहको कमी देखिन्छ : अर्थमन्त्री

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीभित्र देखिएका सबै समस्याहरू समाधानयोग्य रहेको बताएका छन् ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री समेत रहेका उपाध्यक्ष पौडेलले यस्तो बताएका हुन् ।

पार्टीको एकता जोगाउँदै राष्ट्रिय राजनीतिमा एमालेको भुमिका अझ प्रभावकारी बनाउन सक्ने सामर्थ्य पार्टी नेतृत्वसँग रहेको उनको दाबी छ । उनले पार्टी नेतृत्वको काबुभन्दा बाहिर कुनैपनि समस्या नरहेको उल्लेख गर्दै पार्टीभित्रका समस्या समाधान गर्नसक्ने क्षमता आफूहरूसँग रहेको दोहोर्याए । उनले कार्यकर्ता तहमा सक्रियता र उत्साहमा कमी आएकोप्रति चिन्ता व्यक्त गर्दै थप छलफलको आवश्यकता रहेको पनि बताए ।

उनले भने ‘आज नेकपा एमालेमा हाम्रो काबुभन्दा बाहिर, हामीले समाधान गर्न नसक्ने कुनै समस्या छ जस्तो लाग्दैन । समस्याहरू छन् तर ती सबै हाम्रो काबुभित्र छन्, समाधान गर्नसक्ने तहभित्रै छन् । अहिलेको पार्टीको नेतृत्वले पार्टीमा देखिएका कुनैपनि समस्याको समाधान गर्नसक्छ । र पार्टीको एकता सुरक्षित गर्दै राष्ट्रिय राजनीतिमा पार्टीको भूमिकालाई अझै प्रभावकारी बनाउँदै अगाडि बढ्न सक्छ भन्ने कुरामा हाम्रा सबै नेता कार्यकर्ताहरूले विश्वास गर्नुपर्छ । र त्यो सामर्थ्य हामीसँग छ भन्ने विश्वास समेत छ । अहिले हाम्रो पँक्तिमा अलिकति त्यो गति, उत्साह, ऊर्जा कम देखिएको छ । एक समय थियो जतिबेला पार्टीले आह्वान गर्ने बित्तिकै हजारौँ लाखौँ मान्छे सडकमा उत्रिन्थे । अहिले थोरै मान्छे जुटाउन पनि निकै मेहनत गर्नुपर्ने स्थिति सिर्जना भएको छ, किन रु अहिले पार्टी र पार्टी कार्यकर्तामा किन शिथिलताको स्थिति बन्यो भन्ने कुरा अलिकति छलफल र चिन्ताको विषय हो ।’

उनले पार्टी नेतृत्वको सवालमा ठूला विवाद उत्पन्न नहुने विश्वास व्यक्त गर्दै उनले पार्टीका आन्तरिक समस्याको समुचित मूल्यांकन गरेर निष्कर्षमा पुग्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 6 =