युवाको क्षमता नेपालमै प्रस्फुटन गराउने वातावरण निर्माण गर्नु राज्यको दायित्व : नारायणप्रसाद दाहाल

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले व्यवस्थित राष्ट्रिय नीति तय गरी कार्यान्वयनमा जानु जरुरी भइसकेको बताएका छन् ।
बुधवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले स्वदेशको मौलिक प्रविधि र विश्व बजारबाट प्राप्त हुने विज्ञान र प्रविधिको अवसरलाई राष्ट्रको आवश्यकताका आधारमा ग्रहण, उपयोग र प्रवर्द्धन गर्नका लागि व्यवस्थित राष्ट्रिय नीति तय गरी कार्यान्वयनमा जानु जरुरी भइसकेको बताए । उनले विज्ञान तथा प्रविधिमा आधारित उद्यमशीलता विकासका लागि राज्यले लगानी, नीति, संरचना र अवसरको समायोजन गर्नुपर्ने बताए ।
नेपाली युवामा रहेको नवीन सोच, ज्ञान, सीप, क्षमता र अनुभवलाई सदुपयोग गर्दै राष्ट्र निर्माणमा परिचालन गर्न जरुरी रहेको भन्दै युवालाई देशभित्रै आशा, भरोसा र सपना जागृत गराउन आवश्यक रहेको बताए । युवाहरूको क्षमता नेपालमै प्रस्फुटन गराउने वातावरण निर्माण गराउनु राज्यको दायित्व भएको बताए । समयसापेक्ष रुपमा जनताको आवश्यकता र समस्या समाधान गर्नसक्ने किसिमको विज्ञान, प्रविधिको विकास र प्रयोग हुन जरुरी रहेको बताए ।
अध्यक्ष दाहालले भने ‘विज्ञान तथा प्रविधिमा आधारित उद्यमशीलता विकासका लागि राज्यले लगानी, नीति, संरचना र अवसरको समायोजन गर्नुपर्दछ । हामीले एकातिर नेपाली युवामा रहेको नवीन सोच, ज्ञान, सीप, क्षमता र अनुभवलाई सदुपयोग गर्दै राष्ट्र निर्माणमा परिचालन गर्नुपर्दछ भने अर्कोतिर उनीहरूलाई देशभित्रै आशा, भरोसा र सपना जागृत गराउनुपरेको छ । नयाँ विचार, खोज र नवप्रवर्तनका काममा युवाहरू बढी सक्षम हुन्छन् । उनीहरूलाई आवश्यक सहयोग र प्रोत्साहन नहुँदा दक्ष जनशक्ति विदेश पलायन हुने वा गलत बाटोमा लाग्ने स्थिति पैदा भइरहेको अनुभूति हामी सबैले गरिरहेका छौँ । युवाहरूको क्षमता नेपालमै प्रस्फुटन गराउने वातावरण निर्माण गराउनु राज्यको दायित्वभित्र पर्दछ । त्यसका लागि युवाहरूको क्षेत्रमा क्रियाशील सरकारी निकायहरु राष्ट्रिय युवा परिषद् लगायतका संघ,संस्थाको भुमिका सशक्त, समन्वयकारी र प्रभावकारी बनाउनुपर्ने आवश्यकता मैले महसुस गरेको छु । कुनै पनि राष्ट्रको सर्वाङ्गीण विकासको लागि विज्ञान तथा प्रविधिको विकास र उपयोगको ज्यादै महत्वपूर्ण भुमिका रहन्छ । विश्वमा विकसित राष्ट्रहरूको विकासको मूल आधार नै विज्ञान प्रविधिको उच्चतम विकास र त्यसको सही प्रयोग नै रहेको देखिन्छ । जहाँ विज्ञान र प्रविधिको विकास, प्रवर्द्धन र सही उपयोग भएको छ, त्यसको विकासको दर उच्च रहेको छ । त्यस्ता देशले छिटै उन्नति हासिल गरेको अवस्था छ । नेपालको हकमा समयसापेक्ष रुपमा जनताको आवश्यकता र समस्या समाधान गर्नसक्ने किसिमको विज्ञान, प्रविधिको विकास र प्रयोग हुन सकिरहेको छैन । त्यसैले स्वदेशको मौलिक प्रविधि र विश्व बजारबाट प्राप्त हुने विज्ञान र प्रविधिको अवसरलाई राष्ट्रको आवश्यकताका आधारमा ग्रहण, उपयोग र प्रवर्द्धन गर्नका लागि व्यवस्थित राष्ट्रिय नीति तय गरी कार्यान्वयनमा जानु जरुरी भइसकेको छ ।’
अध्यक्ष दाहालले सूचना र प्रविधिका नवीन प्रविधि अवलम्बन गर्न कानुनी आधार तयार गर्दै कृत्रिम बौद्धिकताको विकास, प्रवर्द्धन र नियमनको व्यवस्था गर्न आग्रह गरे । सूचना, प्रविधि क्षेत्रमा नीतिगत स्थायित्वसहित उच्च गतिको भरपर्दो र किफायती इन्टरनेट सेवा,डाटा सुरक्षा र बौद्धिक सम्पत्ति संरक्षण प्रदान गर्दै डिजिटल नेपाल फ्रेमवर्क परिमार्जन गरी सोको कार्यान्वयन र अनुगमनमा समेत जोड दिनुपर्ने बताए ।
नवप्रवर्तनलाई प्रवर्द्धन गर्दै वैज्ञानिक आविष्कारहरूलाई उद्यमशीलतामा परिणत गर्न जुट्नुपर्ने बताए । अनुसन्धान र आविष्कारको क्षेत्रमा प्रगति गर्न शिक्षा क्षेत्रमा नीतिगत स्पष्टता, उद्योग र अनुसन्धान संस्थानहरूबिच समेत समन्वय र सहकार्यलाई बढाउन आवश्यक रहेको बताए ।








