स्कटल्याण्डले नेपाललाई दियो ९८ रनको मध्यम लक्ष्य

काठमाडौँ । त्रिकोणात्मक टि२० आई सिरिजको दोस्रो खेलमा स्कटल्याण्डले नेपाललाई ९८ रनको मध्यम लक्ष्य दिएको छ ।
नेपालका कप्तान रोहित पौडेलले टस जितेर स्कटल्याण्डलाई ब्याटिङको निम्तो दिएको खेलमा नेपालका लागि बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि स्कटल्याण्ड १९.४ ओभरमा मात्र ९७ रनमा अलआउट भएको हो ।
स्कटल्यान्डका माइकल लीस्कले सर्वाधिक ४६ रन बनाए । ४६ बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गरेका थिए ।
म्याथ्यु क्रस १५ र ब्रान्डन म्याकमुलनले १० रन बनाएको खेलमा अन्यले भने प्रभावकारी इनिङ्स खेल्न सकेनन् ।
बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले चार, करण केसी र दीपेन्द्रसिंह ऐरीले दुई–दुई तथा ललितनारायण राजवंशीले एक विकेट लिए । केसीले यही खेलमार्फत टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा १०० विकेट पूरा गरे । करण सो उपलब्धि हासिल गर्ने नेपालको दोस्रो बलर हुन् । यसअघि सन्दीप लामिछानेले टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा नेपालबाट १०० विकेट लिएका थिए । नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।









