रास्वपाका सांसदहरूले निलो स्कार्फ लगाएर नाराबाजी गरेपछि काँग्रेसको नियमापत्ति, बैठक ३० मिनेटका लागी स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको बैठक ३० मिनेटका लागी स्थगित गरिएको छ । रास्वपा र राप्रपाका सांसदले विरोध जनाएपछि संसद बैठक ३० मिनेटका लागी स्थगित गरिएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले संसद् बैठकमा निलो स्कार्फ लगाएर नाराबाजी गरेपछि नेपाली काँग्रेसले नियमापत्ति जनाएको छ ।
मङ्गलवार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले नियमापत्ति जनाएका हुन् ।
उनले संसद्मा मर्यादित पोशाकमा आउने व्यवस्था गरिएको स्मरण गराउँदै रास्वपाका सांसदहरूले लगाएको स्कार्फ मर्यादित पोशाकभित्र पर्छ कि पर्दैन भन्ने प्रश्न गरे । उनले भोलिका दिनहरूमा कोही हाफ पाइन्ट तथा कोही जथाभाबी ड्रेसमा आए के गर्ने भन्दै प्रश्न गरे । उनले यस प्रकारका व्यवहार गर्ने सांसदहरूलाई सभामुखले चेतावनी दिनुपर्ने र संसद बैठकबाटै निष्कासन गर्नुपर्ने भन्दै ध्यानाकर्षण गराए ।
उनी भन्छन्, “यो संसद्मा मर्यादित पोशाकमा आउनुपर्छ भन्ने व्यवस्था गरिएको छ । यो नियमावलीमै गरिएको व्यवस्था हो । यो संसद्मा अहिले केही मान्य सदस्यहरूले जुन स्कार्फ लगाएर आउनुभएको छ, यो मर्यादित पोशाकभित्र पर्छ कि पर्दैन ? यसरी भोलि कोही हाफ पाइन्ट मात्र लगाएर आउने, जथाभाबी ड्रेसमा आउने, जे पनि लगाएर आउन थाल्यो भने त्यसलाई संसद्को मर्यादाभित्र राख्ने कि नराख्ने ? यस्तो किसिमको व्यवहार गर्ने माननीय सदस्यहरूलाई सभामुखले चेतावनी दिने र संसद्बाट निष्कासन गर्न आवश्यक छ भन्ने कुरामा ध्यानाकर्षण गराउँछु ।”








