योजना बैंक स्वार्थको हतियार बनाइयो : सांसद बस्नेत

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले सरकारले बजेट निर्माण प्रक्रिया र कार्यक्रम विनियोजनमा अनुशासनभन्दा बढी आफ्नो स्वार्थ पूरा गर्न योजना बैंकलाई हतियार बनाएको आरोप लगाएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०८२÷८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै बस्नेतले सत्ता पक्षले तथ्यलाई ‘धुवाँको पर्दा’ लगाएर लुकाउने प्रयास गरिरहेको टिप्पणी गरे । उनले बजेटमा तीन करोडभन्दा कमका योजना नराखिएको भनिए पनि १ लाखदेखि १० लाख रुपैयाँसम्मका नयाँ योजना बजेट किताबमा समावेश गरिएकाले तथ्य परस्पर विरोधी रहेको बताए ।
‘तीन करोडभन्दा मुनिका योजना हटाइएको भनिएको छ, तर बजेट किताबमै २५, २०, ५० लाखसम्मका नयाँ योजनाहरू छन्,’ बस्नेतले भने, ‘यी कुनै पनि योजना क्रमागत हैनन्, नयाँ योजना हुन्। यसको उद्देश्य स्पष्ट देखिन्छ—आफ्नो पहुँच र हित समूहका लागि बजेट वितरण ।’
उनका अनुसार ४ हजार योजना घटाएर मितव्ययी काम गरियो भन्ने दाबी पनि गफ मात्रै हो । ‘कस्ता योजना हटाइयो, कस्ता कायम गरियो? यसको तुलनात्मक अध्ययन नभई गफ गर्नु गलत हो,’ उनले थपे ।
बस्नेतले सहरी विकास मन्त्रालयको बजेटसम्बन्धी अव्यवस्थाको उदाहरण दिँदै मन्त्रालयका मन्त्री र सचिव स्वयंले पनि थपिएको बजेटबारे जानकारी नभएको बताएका छन् । ‘उहाँहरू हामीले १ खर्ब १८ अर्ब छुट्याएको होइन, अर्थ मन्त्रालयले थपिदियो रे । यस्तो अपारदर्शी र असंगठित ढंगमा बजेट आउने हो भने जनताको विश्वास रहँदैन,’ बस्नेतले कटाक्ष गरे ।
सांसद बस्नेतले योजना बैंकलाई आफ्नो स्वार्थ पूरा गर्ने माध्यम बनाइएको दाबी गर्दै भने, ‘यो योजना बैंक चार हजार घटाइयो भनेर प्रचार भयो, तर कसका योजना हटाइयो र कसका कायम राखियो भन्ने स्पष्ट छैन। तुलनात्मक अध्ययन जरुरी छ ।’
अन्त्यमा उनले बजेटले सिद्धान्त, प्राथमिकता, बजेट निर्माण प्रक्रिया र जनअपेक्षाको दृष्टिले पनि असफलता बोकेको आरोप लगाए । ‘बजेटले राष्ट्रको आवश्यकता र जनताको अपेक्षालाई सम्बोधन गर्न सकेको छैन,’ उनले निष्कर्ष दिए ।








