सरकारले अनुशासनको सीमाभित्र रहेर बजेट ल्याएको हो : पदम गिरी

काठमाडौं । नेकपा (एमाले)का सांसद पदम गिरीले सरकारले आगामी आर्थिक वर्षको बजेट अनुशासनको सीमाभित्र रहेर ल्याएको बताउँदै बजेटले नयाँ आर्थिक लय सुरु गर्ने संकेत दिएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गिरीले राष्ट्रिय योजना आयोगले तोकेको ९ खर्ब ७५ अर्बको सीमा भित्र रहेर बजेट निर्माण गर्नु सरकारको आर्थिक अनुशासनप्रतिको प्रतिबद्धता भएको बताए । उनका अनुसार १९ खर्ब ६४ अर्बको कुल बजेट राष्ट्रिय योजना आयोगको सिफारिस अनुसार नै आएको छ, जुन भविष्यमा योजनाहरू कार्यान्वयन गर्न, पुँजीगत खर्च बढाउन र उत्पादनमुखी प्रणालीतर्फ उन्मुख हुन मद्दत पुर्‍याउनेछ ।

‘योजना आयोगको सीमालाई सरकारले क्रस गर्ने काम गरेन,’ गिरीले भने, ‘यो अनुशासनले आगामी दिनमा योजनाहरू कार्यान्वयन गर्न सकिन्छ भन्ने विश्वास दिलाएको छ ।’

सांसद गिरीले अघिल्लो वर्षहरूमा लोकरिझ्याइँका आधारमा आयोजना छनोट गर्दा १८ हजारसम्म आयोजनाहरू किताबमा समावेश भए पनि ती समयमै कार्यान्वयन हुन नसकेको उदाहरण दिँदै त्यसबाट पाठ सिकिएको उल्लेख गरे ।

अहिले भने नेपालको संविधान कार्य विस्तृतीकरण प्रतिवेदन र सरकारको आयोजना वर्गीकरण मापदण्डअनुसार ३ करोडभन्दा साना आयोजनाहरू संघीय सरकारले नलिने नीति अनुसार बजेट आएको बताए ।

‘यो एउटा ठूलो उपलब्धि हो,’ उनले भने ‘अब बजेट प्रक्रिया अनुशासित र परिणाममुखी हुने आशा गर्न सकिन्छ ।’

गिरीले भविष्यमा पनि यस्तै अनुशासित बजेट निर्माण प्रक्रिया अपनाउन सके नेपालको अर्थतन्त्रलाई स्थायित्व र विकासको नयाँ लयमा लैजान सकिने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + three =