बजेटलाई सरकारका मन्त्रीहरूले एकलौटी कब्जा गरे : प्रकाश ज्वाला

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद प्रकाश ज्वालाले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि ल्याइएको बजेटप्रति कडा आलोचना गर्दै सरकारका मन्त्रीहरूले यसमा एकलौटी कब्जा गरेको आरोप लगाएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद ज्वालाले बजेट सन्तुलनभन्दा पनि राजनीतिक पूर्वाग्रह, पहुँच र सिफारिसको भरमा बाँडफाँट गरिएको जिकिर गरे । उनका अनुसार मन्त्री र नेताहरूका बुवा–आमाका नाममा, पार्टी र जनसङ्गठनका कार्यालय निर्माणका लागि अर्बौँ रुपैयाँ विनियोजन गरिएको छ, जबकि दुर्गम जिल्लामा आधारभूत सेवाहरू अभावमा छन् ।

‘यो बजेटलाई सरकारका मन्त्रीहरूले एकलौटी कब्जा गरेको देखिन्छ,’ ज्वालाले भने, ‘मन्त्री र नेताका बुवा–आमाका नाममा, पार्टी र जनसङ्गठनका कार्यालय बनाउन अर्बौं बजेट बाँडिएको छ, तर दुर्गम जिल्लाहरूमा स्वास्थ्य चौकी, खानेपानी जस्ता आधारभूत आवश्यकतामा बजेट नभएर जनता छटपटाइरहेका छन् ।’

उनले कुनै प्रक्रिया नपुगेका योजनाहरूमा मन्त्रीका आसेपासे, दलाल र विचौलियाहरूको हालीमुहाली रहेको बताए । त्यसैगरी, योजना आयोगले केन्द्र सरकारमा तीन करोडभन्दा माथिका योजना छनोट गर्ने निर्देशन दिएको भए पनि त्यसको पालना नगरिएको र बजेट छरपस्ट रूपमा बाँडिएको ज्वालाको भनाइ थियो ।

सांसद ज्वालाले यो बजेटले जनतालाई आशा, भरोसा र समृद्धिको मार्गचित्र दिन नसकेको दाबी गर्दै भने, ‘यसले आम जनताको जीवनस्तर उकास्नेभन्दा पनि सत्ताको वरिपरि घुम्नेहरूलाई पोस्ने काम गरेको छ ।’

उनले बजेटको पुनरावलोकन गरी न्यायोचित र आवश्यकता–आधारित पुनर्वितरण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + ten =