भ्रष्टाचार अन्त्य गर्न माओवादीलाई बहुमत दिनुस्, देश बन्छ : नारायणकाजी श्रेष्ठ (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्र का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मुलुकलाई भ्रष्टाचार र कुशासनबाट मुक्त गर्दै समृद्धिको दिशामा लैजान आफ्नो पार्टीलाई बहुमतसहित सरकारको नेतृत्व गर्ने अवसर दिन आमजनतासँग आह्वान गरेका छन् । उनले वर्तमान सरकार भ्रष्ट र निरंकुश भएको आरोप लगाउँदै देश बनाउने संकल्पका लागि एकपटक पुनः माओवादी केन्द्रलाई विश्वास गर्न आग्रह गरे ।

सोमबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले माओवादी नेतृत्वको अघिल्लो सरकार भ्रष्टाचारीलाई संरक्षण गर्न र भ्रष्टाचारको प्रक्रियालाई निरन्तरता दिनकै लागि ढालिएको दाबी गरे । उनले भने, ‘यो देशलाई बनाउने हो भने तपाईंहरूले फेरि नेकपा (माओवादी केन्द्र) लाई एक पटक बहुमतको सरकार बनाउने गरी समर्थन गर्नुपर्छ । यो पार्टीलाई सशक्त बनाउन र आवश्यकता परे जनसंघर्षको नेतृत्व गर्ने ठाउँमा पुर्‍याउन पनि तपाईंहरूको सहयोग अनिवार्य छ ।’

उनले पछिल्लो समय पार्टीका कार्यक्रमहरूमा जनताको सहभागिता उल्लेख्य रूपमा बढेको र पार्टी प्रवेशको लहर चलेको बताउँदै यसले पार्टीप्रति जनताको आशा पुनः जागृत भएको संकेत गरेको जिकिर गरे । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले सम्बोधनका क्रममा शान्ति प्रक्रियाका बाँकी कामहरूलाई नियोजित रूपमा रोक्ने प्रयत्न भइरहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरे ।

संक्रमणकालीन न्यायसँग सम्बन्धित मुद्दाहरूलाई अविलम्ब टुंगोमा पुर्‍याउन राज्यलाई दबाब दिनुपर्नेमा उनले जोड दिए । शान्ति प्रक्रियालाई निष्कर्षमा नपुर्‍याई मुलुकले स्थायी शान्ति र स्थायित्व प्राप्त गर्न नसक्ने उनको तर्क थियो । कार्यक्रममा उनले पार्टीलाई वैचारिक र सांगठनिक रूपमा पुनर्गठन गर्दै जनताको प्रमुख शक्तिका रूपमा स्थापित गर्ने अभियानमा आफूहरू लागेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − eight =